काठमाडौं - प्रधानमन्त्री केपी ओलीले सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा अल्पमतमा परेपछि विभिन्न रणनीति अपनाउन सुरु गरेका छन् ।
स्थायी कमिटी बैठकमा उपस्थित नभए पनि बैठकलाई सम्बोधन गर्दै चिठी लेखेर आफ्ना अडान प्रस्ट राखेका छन् । जसले गर्दा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह रक्षात्मक अवस्थामा पुगेका छन् ।
स्थायी कमिटी बैठकमा आफ्नो बहुमत भए पनि ओलीका विषयमा कुनै निर्णय गर्न नसक्नुले उनीहरू पार्टीको नेतृत्व अझै लिन नसक्ने कमजोर नेता मानिएका छन् । जसका कारण पनि प्रधानमन्त्री ओलीलाई खेल्ने मौका दिइएको छ ।
यो हप्ताको बीचमा ओलीले ठूलै चमत्कार देखाउने उनी निकट नेताहरु बताउँछन् । तर, अहिलेसम्मको परिदृश्य हेर्दा ओलीसँग प्रचण्ड नेपाल समूहलाई गलाउने बलियो तुरुप फेला नपरेको हो कि भन्ने बुझ्न सकिन्छ ।
किनभने कहिले वामदेव गौतम त कहिले रामबहादुर थापा बादललाई ‘चुनावी सरकारको प्रधानमन्त्री’ बनाउने आश्वासन दिनुले पनि ओलीसँग त्यस्तो बलियो तुरुप बाँकी नरहेको देखिएको हो ।
वामदेव र बादल दुवै राष्ट्रिय सभा सदस्य हुन् । नेपालको संविधानमा राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न सक्ने प्रावधान नै छैन । राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने हो भने संविधान संशोधन गर्नुपर्ने हुन्छ ।
वामदेव र बादललाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न नेकपा र नेपाली कांग्रेस तयार हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । किनभने वामदेव र बादल दुवै मन्त्रीमै असफल भएका नेता हुन् ।
त्यसैले अझै दुई वर्षसम्म सबैलाई अलमलमा पारेर आफ्नो कुर्सी लम्ब्याउने खेलमा ओली लागेको प्रस्टै हुन्छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा ओली र प्रचण्डबीच आधा आधा सरकारको नेतृत्व गर्ने सहमति नै भएको थियो ।
तर, त्यस्तो लिखित सहमति त ओलीले लत्याएर प्रचण्डलाई मुसोझै खेलाइरहेका छन् भने अब उनले वामदेव र बादललाई प्रधानमन्त्री बनाउने कुरा असम्भव नै नरहेको नेकपा नेताहरु बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।