काठमाडौं- प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक आयोजना गरेको र समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका वेला प्रधानमन्त्री ओलीले अचानक सर्वदलीय बैठक बोलाएको भन्दै कांगेसले आश्चर्य प्रकट गरेको छ ।
मुलुकको समस्या समाधानका लागि नभई आफूमाथिको अप्ठ्यारो टार्न कुनै उपाय निस्किन्छ कि भनेर प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको हुन सक्ने कांग्रेस नेताहरूको बुझाई छ । तर, कांग्रेसले भने प्रधानमन्त्री ओलीविरुद्ध सशक्त भएर आज बैठकमा प्रस्तुत हुने तयारी गरेको छ ।
त्यसका लागि सोमबार साँझ पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शीर्ष नेताको बैठक बसेको थियो । प्रधानमन्त्री, सरकारका क्रियाकलाप र सत्तासीन दल नेकपाका कारण संविधान र लोकतान्त्रिक व्यवस्थाविरुद्ध आवाज गुन्जिन थालेको निष्कर्ष निकाल्दै कांग्रेसले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीलाई यसबारे सचेत गराउने निर्णय गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका कारण लोकतान्त्रिक व्यवस्थाप्रति निराशा छाएको कांग्रेसको निष्कर्ष छ । आजको बैठकमा कांग्रेस नेताहरुले राष्ट्रपतिलाई आफ्नो भूमिकामा रहन र धेरै चलखेल नगर्न प्रधानमन्त्रीमार्फत कुरा राख्ने भएको छ ।
पछिल्लो समय राष्ट्रपति नेकपा त्यसमा पनि ओली गुटमा सीमित भएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।