काठमाडौं – देशका विभिन्न शहरमा राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा ‘राजा आऊ देश बचाऊ’ भनेर नारा लागिरहेको बेला राजतन्त्रवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले आन्दोलनको नारा फेरेका छन् ।
सोमवार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण समारोहमा अध्यक्ष थापाले ‘राजा आउ देश बचाउ होइन, जनता आउ राजा ल्याउ देश बचाऔँ भनौं’ भनेर आग्रह गरेका छन् ।
थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा राप्रपाको समर्थन रहने बताए ।
थापाले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने बताए । उनले राजसंस्था र हिन्दूराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरेका छन् ।
अध्यक्ष थापाले राजसंस्था र हिन्दू राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको बताए । चुनाव चिह्न हलो भएकोमा दुःख मनाउ गर्नुपर्ने अवस्था नभएको भन्दै हलोको सामाजिक सांस्कृतिक महत्त्वबारे चर्चा गरेका छन् ।
‘हिन्दू राष्ट्रको नारा बोकेकाले गाई चुनाव चिह्न चाहे पनि पार्टी एकताका लागि हलो स्वीकार गर्यौं । हामीले अवलम्बन गरेको हलोको पनि सामाजिक आर्थिक र धार्मिक महत्त्व छ,’ थापाले थपे, ‘हलो भनेको भगवान् बलरामको प्रतीक हो । हामीले यो चिह्न कायम गर्ने सौभाग्य पायौं, यसमा आत्मग्लानी गर्नुपर्ने कारण छैन ।’
थापाले पछिल्लो समय हिन्दूराष्ट्र र राजसंस्थाको माग गर्दै भइरहेको आन्दोलनमा आफ्नो सहयोग र समर्थन रहने बताए । उनले आन्दोलनलाई देशका राजनीतिक शक्तिहरू र विदेशीहरूले पनि हेरिरहेको बताउँदै हिन्दूराष्ट्र र राजसंस्थाको मूल संवाहक राप्रपा भएको दाबी गरेका छन् ।
यसरी महामारीबीच नै आन्दोलन शुरू हुनुका ३ कारण समेत अध्यक्ष थापाले औंल्याए । जसमा उनले हिन्दूराष्ट्र र राजा बाहिरी शक्तिका कारण हटाइएको, जनताले गणतन्त्रको सकारात्मक परिवर्तन महसूस नगरेको र पूर्व राजाको सालिन र सकारात्मक जीवनशैली रहेको दाबी गरेका छन् ।
राप्रपाका अर्का अध्यक्ष पशुपति शमशेर जबराले ‘सरकारले सिन्को पनि नभाँचेको’ आरोप लगाए । ‘मुलुक अहिले नराम्रो अवस्थामा छ । दुईतिहाई सरकार २ वर्षसम्म दिशाहीन उपलब्धिहीन बाटोमा छ । सरकारले सिन्का भाँच्न सकेको छैन,’ उनले भने, ‘सरकारसँग केही ठोस बाटो छैन । काण्डको नाम लिन साध्य छैन । स्थायित्वका लागि प्राप्त जनादेशको पनि आपसी कलहमा परेर सरकारले खिल्ली उडायो ।’
कार्यक्रममा अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारी एउटा पार्टी र त्यसको एउटा समूहको जस्तोमात्र देखिएको आरोप लगाए । अध्यक्ष लोहनीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदै देशमा संवैधानिक राजतन्त्रको आवश्यकता रहेको औंल्याएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।