काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय खेलकुद विभागका प्रमुख मोहबहादुर बस्नेतले आफू दानवीर भएको छवि बनाएका छन् ।
उनी आफ्ना बुवाआमाको सम्झनामा ‘जिल्लाव्यापी कोमल माया–खड्गबहादुर बस्नेत स्मृति कप’ प्रतियोगिता आयोजना गर्न लागेका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको पलातीमा शनिवार पत्रकार सम्मेलन गरेर पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले बुवाआमाको स्मृतिमा आफू र आफ्ना परिवारको सहयोगमा जिल्लाव्यापी फूटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनले सिन्धुपाल्चोकका सबै नगरपालिका र गाउँपालिकाबाट १–१ वटा फूटबल टीमले भाग लिने बताएका छन् ।
प्रतियोगितामा सहभागी हुने टीमका खेलाडीहरू सोही नगरपालिका र गाउँपालिकाको भएको परिचयपत्र वा नागरिकता पेश गर्नुपर्ने बस्नेतले बताए । ‘खेलाडीहरू किनेर ल्याएर टीम वा क्लबमार्फत खेलाउने परम्परा छ,’ उनले भने, ‘हाम्रो सिन्धुपाल्चोकले नयाँ परम्पराको थालनी गर्न लागेको छ । खेलाडीहरू सम्बन्धित गाउँपालिका वा नगरपालिकाको हुनुपर्नेछ ।’
सिन्धुपाल्चोकबाट आगामी दिनमा राष्ट्रियस्तरका फूटबल खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिता गर्न लागेको बस्नेतले बताए । कांग्रेस नेता बस्नेतको पहलमा पलातीमा निर्माण भएको फूटबल मैदानमा मंसिरको २२ देखि २८ गतेसम्म प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष सहयोग रहनेछ । फूटबल प्रतियोगितामा करीब ९ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिताका लागि कांग्रेस नेता नेता बस्नेतका अमेरिकामा बस्दै आएका कान्छा भाइ प्रकाश बस्नेत र बुहारी सृष्टि बस्नेतले सहयोग गर्नेछन् ।
भाइ–बुहारीले अमेरिकाबाट प्रतियोगिताका लागि ५ लाख रुपैयाँ पठाइदिएको जानकारी दिँदै नेता बस्नेतले प्रकाश र सृष्टिलाई धन्यवाद समेत दिएका छन् ।
प्रतियोगितामा बाँकी रकम पनि आफू र आफ्ना परिवारबाटै संकलन गरेर निजी खर्चमा गरिने कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले बताएका छन् । अखिल नेपाल फूटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले सिन्धुपाल्चोकको गाउँपालिका र नगरपालिकास्तरीय फुटबल प्रतियोगितालाई एन्फाले सक्दो सहयोग गर्ने बताए । उनले एन्फाले प्रशिक्षण सेन्टर राखिदिने आश्वासन समेत दिएका छन् । एन्फाका अध्यक्ष शेर्पा सिन्धुपाल्चोक जिल्ला निवासी नै हुन् ।
पत्रकार सम्मेलनपछि कांग्रेस नेता बस्नेत, एन्फाका अध्यक्ष शेर्पा, सञ्चारकर्मी सहितको टोलीले फुटबल प्रतियोगिता हुने पलातीको फुटबल मैदानको स्थलगत निरीक्षण गरेको थियो । फूटबल मैदानसँगै स्वास्थ्य चौकी र पौडी पोखरीको पनि निरीक्षण गरिएको थियो ।
विजेता टीमलाई नगदसहित ट्रफी दिइने छ । दोस्रो र तेस्रोले पनि नगद सहितको पुरस्कार पाउनेछन् । उत्कृष्ठ खेलाडीबाट पनि विभिन्न विधामा पुरस्कार दिनेछ ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बस्नेतका साथै एन्फाका अध्यक्ष शेर्पा, एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का, नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष मनकुमार श्रेष्ठ (सानू भाई), पदाधिकारीहरू, युवा खेलाडी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा मुख्य प्रायोजन तथा जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको प्राविधिक सहयोगमा हुनेछ । सिन्धुपाल्चोकको प्रतिनिधि सभाका दुबै क्षेत्रमा नेकपाले जितेको छ । तत्कालीन एमालेका शेरबहादुर तामाङ र माओवादीका अग्निप्रसाद सापकोटालाई जनताले निर्वाचित गराएका थिए । तर तामाङ र सापकोटाले जिल्लामा खेलकुदका साथै विकासका कार्यक्रमहरू गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ ।
कांग्रेस नेता बस्नेत, एन्फाका अध्यक्ष शेर्पा सहितको टीमले लामोसँघुमा नवनिर्मित फूटसलको पनि अवलोकन गरेको छ । स्थानीय क्लबको पहलमा निर्माण भएको फूटलस बनाउँदा कांग्रेस नेता बस्नेतले ठूलो योगदान गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।