काठमाडौं – तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको हिंसात्मक सशस्त्र द्वन्द्वबाट जन्मिएका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्ला केही दिनयता सामाजिक सञ्जाल ट्विटरमा छटपटी प्रकट गर्न थालेका छन् ।
खासगरी हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा नेपाली युवाले गरिरहेको प्रदर्शनलाई लक्षित गर्दै नेता भट्टराईले घृणित शब्दहरू समेत प्रयोग गरिरहेका छन् । भट्टराईको यो छटपटी १–२ दिन मात्रै देखिएको छैन, केही दिनयता दिनदिनै देखिँदै आएको छ ।
तत्कालीन माओवादीका कमाण्डर प्रचण्डबाट छुट्टिएर भट्टराई हाल मधेश केन्द्रित राजनीतिबाट उदाएका उपेन्द्र यादवको पार्टीमा लागेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष भट्टराईले सडकमा देखिएको जनताको प्रदर्शनलाई अपमान गर्ने गरी अभिव्यक्ति दिइरहेका छन् ।
मंसिर १२ गते डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा हुन् । यीमध्ये कुनै एक खुट्टा भाँचिदा पूरै खाट लड्छ । यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयताविरोधीहरूले बेलैमा बुझून् । चकचके बाँदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून् !’
सोही दिन अर्काे ट्विटमा उनले लेखेका छन्, ‘पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफूलाई ‘राष्ट्रवादी’चैं नभनून् ! उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून् । नेपालमा गणतन्त्रको जग हल्लिँदा आउने अस्थिरताले देशको भविष्य के हुन्छ सोचून् !’
उनले ट्विटरमा व्यक्त गर्ने शब्द, वाक्य र प्रसंगले उनको छटपटी कति छ भन्ने देखाइरहेको छ । त्यसको भोलिपल्ट मंसिर १३ गते उनले फेरि लेखे, ‘ युवासँग आग्रह – गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ ! अहिलेको आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भरौं, नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् ! अगाडिको स्यालसँग लड्दा पछाडि झ्याङमा लुकेको ब्वाककसो नबिर्सौं ! दुवैसँग लडेर अघि जाने साहस गरौं !’
मंसिर १५ गते उनले फेरि लेखेका छन्, ‘ यौटै शैलीमा देशका प्रमुख शहर र काठमाडौंमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले ०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ । तर यो २१ औं शताब्दी हो, सार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन् । हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नातीपुस्ता जन्मिसकेको छ है !’
अनपेक्षित रूपमा युवाहरूको ठूलो संख्या हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा विभिन्न शहरमा प्रदर्शनमा उत्रिएपछि समकालीन नेताहरूमध्ये डा. भट्टराईले सबैभन्दा धेरै विषवमन गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।