काठमाडौं- कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ ।
जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो ।
सोमबारदेखि नागरिकको सेवामा खटिएको उक्त भ्यान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेपछि प्रयोग गरिएको हो ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरु लकडाउनको शुरु अवधिदेखि नै कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन लागिरहेको बताउँदै थप प्रभावकारी बनाउनका लागि नाष्टको प्राविधिक सहयोगमा निर्माण भएको मोबाइल भ्यानमार्फत स्वाब सङ्कलनको काम शुरुआत गरिएको जानकारी दिए ।
नेपाल सरकारले तोकेको मापदण्डभित्र परेका नागरिक र कन्ट्र्याक्ट टे«सिङमा परेका शङ्कास्पद व्यक्तिलाई निःशुल्क परीक्षण गर्ने कामपा लागिपरेको बताइएको छ । यसमा एक पटकमा दुई जनाको स्वाब लिन सकिने छ ।
लक्षित वर्गलाई उपचारबाट वञ्चित नगराउने अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफैँ परीक्षण गर्न पनि कामपाले अनुरोध गरेको छ ।
शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार सोमबार वडा नं १३ मा स्वाब सङ्कलन गरिएको छ भने आजदेखि अन्य वडामा हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।