काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमको खुसीको सीमा नाघेको छ । आफुविरुद्ध परेको रिट खारेज भएपछि नेकपा उपाध्यक्ष वामदेव गौतमले शुभेच्छा र सद्भाव प्रकट गर्दै खुसी व्यक्त गरेका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवारसँग आम निर्वाचन हारेका नेता गौतमले सांसद पद पाएपछि चौतर्फी आलोचना एवं विवाद हुँदै उनीविरुद्ध रिट दायर भएको थियो । अदालतले रिट खारेज गरेसँगै वामदेवले खुसी व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलासले खारेज गरेको छ’, गौतमले भनेका छन्, ‘यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु ।’
उनले वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन पनि भनेका छन् । ‘हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए । फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु’, गौतमको अठोट छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।