काठमाडौं- कोरोना भाइरसको माहामारीका बेला दशैं भत्ता लिनु उचित नभएको भन्दै चौतर्फी विवाद भएसँगै सांसदहरुले भत्ता फिर्ता गरेका छन् । संघीय संसद सचिवालयले सरकारको निर्णय अनुसार भत्ता वितरण गरेको बताएको छ ।
माहामारीले रोजगारी तथा मजदूरी गुमाएका जनता दुई छाक जोड्न धौं धौं परेर सडकमा पुगेका बेला सांसदको बैंक खातामा भने तलब बराबरको दशैं खर्च थपिएको थियो । ।
सांसदहरुलाई उनीहरुको खातामा दशै खर्च पठाइएको सूचना बाहिरिएसँगै मिडिया तथा जनस्तरबाट यो कदमको चौतर्फी बिरोध हुन थालेको हो ।
थाहै नपाई आफूलाई दशै खर्च आएको भन्दै केही सांसदहरुले आफ्नो नैतिकता प्रदर्शन गरेका छन् । यतिबेला संघीय संसदमा ३ सय ३४ सांसद छन् भने संघ र प्रदेशसभा गरेर ८ सय ८४ जना जनप्रतिनिधि छन् । यीमध्ये हालसम्म यी सांसदहरुले आफ्नो भत्ता फिर्ता गरेका छन् ।
नारायणकाजी श्रेष्ठः भत्ता मात्र हैन, तलब नै नलिने सांसद
सत्तारुढ दल नेकपाका प्रवक्ता समेत रहेका पूर्वमन्त्री एवं सांसद नारायणकाजी श्रेष्ठले दशैंभत्ता मात्र हैन चैतदेखि हालसम्मको तलब सुविधा समेत लिएका छैनन् । उनले कोरोना संक्रमण अन्त्य नभएसम्मका लागि आफूलाई तलब भत्ता समेत उपलब्ध नगराउन भन्दै संसद सचिवायलाई यसअघि नै पत्र लेखेका थिए ।
गगन थापा
आइतबार सचिवालयको लेखा शाखामा गएर नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री गगनकुमार थापाले संघीय संसद सचिवालयमै गएर दशैं खर्च वापतको भत्ता रकम फिर्ता गरेका छन् ।
बालकृष्ण खाँण
पूर्वमन्त्री एवं नेपाली काँग्रेसका सांसद वालकृष्ण खाँणले दशै भत्ता फिर्ता गरेका छन् ।
भीम रावल
नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलले दसैँ भत्ता वापतको रकम फिर्ता गरेका छन् । उनले संघीय संसद सचिवालयलाई आइतबार एकपत्र लेख्दै आफूले प्राप्त गरेको दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका हुन् ।
राष्ट्रियसभा अध्यक्ष: गणेश तिमिल्सिना
आफ्नो खातामा आएको दशैं भत्ताबापतको रकम आइतबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले आफूले पाउने र सचिवालय सदस्यले पाउने दशैं भत्ता संसद सचिवालयमा गएर फिर्ता गरेका छन् ।
जनार्दन शर्मा
आइतबार सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत जानकारी दिँदै रुकुमबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री जनार्दन शर्माले आफूले पाएको दशैं भत्ता कोरोना संक्रमितको उपचारमा खर्च गर्ने बताएका छन् ।
देवेन्द्र पौडेल
बाग्लुङबाट निर्वाचित नेकपा सांसद देवेन्द्र पौडेलले आफूले पाएको दशैं भत्ता बाढी पीडितलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।
सूर्य पाठक
वाग्लुङ १ बाट प्रतिनिधिसभा सांसद सूर्य पाठकले पनि सांसदहरुलाई दिइएको दशैं भत्ता नलिने घोषणा गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।