काठमाडौं - गत निर्वाचनमा रुपन्देहीको बुटवललाई प्रदेश राजधानी बनाउने प्रतिबद्धता जनाउँदै चुनाव जितेका नेकपा महासचिव विष्णु पौडेल अहिले आफ्नो घोषणाबाट पछि हटेका छन् ।
प्रदेश ५ सरकारले दाङको भालुवाङलाई प्रदेश राजधानी बनाउने निर्णय गरेपछि अहिले सो निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले निरन्तर आन्दोलन गरिरहेको छ भने नेकपाकै सांसदहरू असन्तुष्ट भएका छन् ।
एकाएक बुटवलबाट किन राजधानी हटाइयो भन्ने विषयमा चासो देखिएको छ । नेकपाकै महासचिव पौडेलको सहमतिविना कसरी यस्तो निर्णय भयो भन्ने रहस्य खोजी भइरहेको छ ।
स्रोतका अनुसार पौडेलले अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको विषयले नेकपामा खैलाबैला भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलेदेखि नै दाङलाई प्रदेश राजधानी बनाउन चाहन्थे ।
तर, त्यसका लागि बाधक थिए विष्णु पौडेल । अर्थमन्त्रीमा पौडेललाई पठाएर दाङको भालुवाङलाई प्रदेश राजधानी बनाउन प्रधानमन्त्री केपी ओली र प्रचण्ड दुवैको सहमति मुख्यमन्त्री शंकर पोखरेलले लिएको नेकपा उच्च स्रोतले बतायो ।
सोही कारण केही दिनभित्रै पौडेलले अर्थमन्त्रीमा नियुक्ति पाउँदैछन् । आफ्नै मतदाताले तीव्र विरोध जनाएपछि पौडेलले औपचारिकता निभाउनकै लागि बुटवल नै प्रदेश राजधानी हुनुपर्छ भनेर मसिनो स्वर निकालेको बुझिएको छ ।
तर, कांग्रेसले सशक्त आन्दोलन जारी राखेकाले ओली र प्रचण्ड तनावमा परेका छन् । उनीहरू अहिले कांग्रेस सभापति शेरबहादुर देउवालाई मनाउन लागिपरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।