काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमणको उच्च जोखिमको समूहमा रहेका छन् । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार ६० वर्षमाथिका र कुनै रोगबाट ग्रसित व्यक्तिहरुलाई कोरोना संक्रमणको उच्च जोखिममा पर्ने समूह हो ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको ८ भन्दामात्र भएको छ । यस्तो अवस्थामा बालुवाटारमा रहेका अधिकांशलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाह र अफिसियल फोटोग्राफरलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्रीका सल्लाहकारहरु, उनको सचिवालयका सदस्य र सुरक्षाकर्मीहरुको शुक्रबार स्वाब संकलन गरिएको थियो ।
गत साता प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाह र अफिसियल फोटोग्राफर राजन काफ्लेमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि सचिवालयका सदस्य तथा सुरक्षाकर्मीको शुक्रबार स्वाब संकलन गरिएको हो ।
उनीहरुको शनिबार रिपोर्ट आएको थियो । त्यसमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना पोजिटिभ देखिएको छ ।
त्यसैगरी भट्टराई र थापाका सवारी चालकमा समेत कोरोना पोजिटिभ देखिएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजागाईले निजी ल्याबबाट परीक्षण गराएका छन् । कामको सिलसिलामा काफ्ले र बजगाईं एकआपसमा बढी सम्पर्कमा रहने व्यक्तिहरु हुन्। तर काफ्लेको संक्रमण पुष्टि हुँदा बजागाईं भने गृहजिल्ला काभ्रेमा थिए ।
बजागाईंले प्रधानमन्त्री ओलीसँग सधै साथमा रहने सचिवालयका सदस्य राजेश शाक्य र दीपेन्द्र दाहालको पनि बुधबार नै स्वाब संकलन गरिएको र बिहीबार रिपोर्ट नेगेटिभ आएको हो । प्रधानमन्त्रीसँग व्यक्तिगतरुपमा धेरै नजिक रहेर काम गर्नुपर्ने व्यक्ति हुन् शाक्य । उनी संक्रमण हुनबाट बचेका छन् ।
दुईपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले कोरोना नभएका बेला समेत अन्य संक्रमणबाट जोगिनका लागि पनि नियमितरुपमै विशेष सतर्कता अपनाउने गरेका छन् । कोरोना पोजिटिभ देखिएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले होम आइसोलेसनमा रहेका छन् ।
सचिवालयका तीन सल्लाहकार र एक स्वकीय सचिवलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री सचिवालयमा काम ठप्प हुने अवस्थामा पुगेको छ ।
बालुवाटारमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनै तर्फका सुरक्षा निकायका छुट्टाछुट्टै ब्यारेक र खानाका मेस सञ्चालनमा छन् । उनले कोरोना संक्रमण बढेपछि निकै सतर्कता अपनाइएको भए पनि कहाँबाट प्रवेश भयो त्यो जानकारी हुन सकेको छैन । यसकारण पनि प्रधानमन्त्री ओली संक्रमणको जोखिमबाट अझै मुक्त भइसकेका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।