– सम्पादकीय
राजनीतिक स्थायित्व, विकास, समृद्धिको नारा लिएर झण्डै दुईतिहाइको बहुमत पाएका तत्कालीन एमाले र माओवादी केन्द्रले निर्वाचनमा जनता समक्ष गरेको बाचाकबोल भुलेका छन् ।
उनीहरूले देशमा राजनीतिक स्थायित्वका लागि जनतासँग भोट मागेका थिए । देशमा विकास हुन्छ भन्ने जनताको चाहना थियो । समृद्धि आयो भने कोही पनि जनता भोकै र नाङ्गै मर्नुपर्दैन भन्ने थियो । केपी ओलीले आफ्ना हरेक भाषणमा चीनबाट रेल ल्याउने बताएका थिए । कुनै पनि जनता भोक मर्नुपर्ने छैन भनेका थिए ।
बिडम्बना निर्वाचनमा गरिएका ती बाचाहरू केपी ओली र पुष्पकमल दाहालहरूले भुलेका छन् । कोरोना महामारीका बेला जनताको जीवन बचाउने बेला मन्त्रीहरू फेरबदल गर्नुपरेको छ । जनता भोकै मरिरहेका छन् । उनीहरूलाई खाने व्यवस्था गर्नुपर्ने थियो । सरकारमा बसेका मन्त्री र नेकपाका नेता तथा सांसदहरूले त्यस विषयमा ध्यान दिएका छैनन् । बरु नेकपा र नेकपाको सरकारमा रहेकाहरू कसरी लाभ लिन सकिन्छ भनेर केन्द्रित भएका छन् ।
जताततै भ्रष्टाचार छ । महँगी छ । अनियमितता छ । भनसुनविना कुनै पनि काम हुँदैन । सरकारलाई कर कसरी उठाउने भन्ने मात्रै ध्यान छ । आफ्ना नातागोतालाई राजनीतिक नियुक्ति र आकर्षक ठाउँमा पठाउने गरिएको छ । जनताले यस्तै हर्कत गर्नका लागि दुई ठूला कम्युनिस्ट पार्टीहरूलाई जिताएका थिएनन् । जनताले झण्डै दुईतिहाइको बहुमत दिनुभनेको सत्ता र स्वार्थ अनि भ्रष्टाचारका लागि कदापि थिएन ।
ओम्नि, यती, बालुवाटारको जग्गा काण्ड, रेलको ठेक्का काण्ड, वाइडबडी काण्ड, सात करोड कमिशन काण्ड यी र यस्ता हर्कतका लागि जनताको भोट थिएन । नेकपाले अहिलेसम्म निर्वाचनमा जनतालाई बाँडेको घोषणा पत्र कार्यान्वयन गरेको छैन । घोषणा पत्रअनुसार कुनै पनि काम भएको छैन । यस्तो अवस्थामा नेकपाका नेताहरू सत्ताको स्वाथमा केन्द्रित भएका छन् ।
मन्त्री बन्न दौडधुप छ । कसैलाई कुहारी बचाउन समस्या भएको छ । कसैलाई पूर्वअर्थमन्त्रीलाई बचाउन समस्या छ । कसैलाई संविधान मिचेर मन्त्री बन्न हतारो छ । नेकपाका नेताहरू पाँच वर्ष धेर्य गर्ने अवस्थामा छैनन् । उनीहरू जसरी हुन्छ कोरोना महामारीका बेला अवसर लिन चाहन्छन् । जनता मरे पनि मरुन् । भोकै मरे पनि मरुन् ।
सरकारले देशमा शान्तिसुरक्षाको व्यवस्था गर्न सकेको छैन । यस्तै अव्यवस्था ल्याउनका लागि जनताले नेकपालाई झण्डै दुईतिहाइको बहुमत दिएका थिएनन् । जनताको धैर्यताको बाँध नफुटोस् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।