काठमाडौं - लामो समयदेखि मिडियामा त्यति चर्चामा नआएका प्रधानमन्त्री केपी ओली बुधबार रातिदेखि फेरि चर्चामा छन् ।
यसपटक फेरि उनले मिडिया र पत्रकारविरुद्ध भँडास पोखेका छन् । लोकतन्त्रका लागि ओली १४ वर्षसम्म जेल बसेको भनेर लेखिदिने मिडिया नै हो ।
भारतको नाकाबन्दीताका राष्ट्रवादी छवि बनाइदिएको ओलीलाई मिडिया र पत्रकारले नै हो । तीनै तहको चुनावताका ओलीलाई निर्विकल्प नेता भनेर मिडियाले नै हाइलाइट गरिदिएको हो ।
तर, ती सबै गुण बिर्सिंदै ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेपछि निरन्तर मिडिया र पत्रकारलाई प्रहार गर्न छाडेका छैनन् । मिडियाकै कारण आफ्नो छवि खलनायक बन्दै गएको अनुभव बल्ल ओलीले महसुस गर्न थालेका छन् ।
बुधबार नेकपा निकट सम्पादकहरूलाई बालुवाटारमा बोलाएर ओलीले आफ्नो मनको भँडास पोखे । उनले ‘मिडियाले जे लेखे पनि सरकारले सुनिदिनुपर्ने, तर आफूले केही चिसिक्क छोए बुरुक्क उफ्रिने’ भनेर पत्रकारको सत्तोसराप गरे ।
ओलीले पत्रकार र मिडियालाई गाली गर्दा सुनिदिने स्रोता पनि मिडियाकर्मी नै थिए । आफ्ना प्रेस सल्लाहकार सूर्य थापाले ‘कुलमान घिसिङलाई भगवान मान्ने एक पाखे हुन्’ भनी दिएको अभिव्यक्तिको बचाउ गर्दै ओलीले मिडियाको खोइरो खनेका हुन् ।
प्रधानमन्त्री ओलीले के बुझ्न जरुरी छ भने केही पत्रकार र मिडियालाई केही समय आफ्नो पक्षमा पार्न सकिएला, गुणगान गाउन लगाउन सकिएला, तर सधैं सधैं मिडिया आफ्नै पक्षमा हुन्छन् भनेर सोच्नु गलत हुन जान्छ ।
देश र जनतालाई ओलीले अहिलेसम्म के के आश्वासन दिए ? के के भनेर ढाँटे ? आफ्ना आसेपासेलाई के के नियुक्ति दिए ? कति राज्यकोष लुटाए ? ती सबै केही समयपछि मिडियाले उधिन्ने नै छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।