काठमाडौं - नेकपाको स्थायी कमिटी बैठक सकिएलगत्तै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको छ । प्रधानमन्त्री केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे सहमति भइसकेको छ ।
त्यसैले दुई वर्षे मापदण्ड बनाएर मन्त्रीहरू हेरफेर गरिन लागेको छ । नेकपा पार्टीभित्र विवाद चर्किएका बेला महासचिव विष्णु पौडेलको अध्यक्षतामा गठित कार्यदलका सदस्यहरू मन्त्री बन्ने निश्चित जस्तै रहेको स्रोतले बतायो ।
कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य थिए । जसमध्ये शंकर पोखरेल प्रदेश ५ का मुख्यमन्त्री भएकाले उनी मन्त्री बन्ने छैनन् ।
स्थायी कमिटी सदस्यलाई मन्त्री बनाउँदा सरकारको छविमा सुधार आउने प्रधानमन्त्री ओलीको अपेक्षा छ । त्यसैले कार्यदलका केही सदस्य मन्त्री बन्ने लाइनमा छन् ।
हाल अर्थ मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालय खाली रहेका छन् । तीनवटा मन्त्रालय खाली नै रहेका, दुईवर्ष पुगेका मन्त्री हटाउँदा थप मन्त्रालय खाली हुने र केही मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद्लाई प्रभावशाली बनाउने प्रधानमन्त्री ओलीको योजना रहेको स्रोतले जनाएको छ ।
ओली नेतृत्वको सरकारले पाँच वर्षमध्ये आधा कार्यकाल पूरा गरिसकेको छ । पार्टीभित्र र जनस्तरमा सरकारका कामकारवाही प्रभावकारी नभएको भन्दै आलोचना हुने गरेको छ ।
आलोचनालाई चिर्दै सरकारलाई जनस्तरमा लोकप्रिय बनाउने भावअनुसार नै मन्त्रिपरिषद् पुनर्गठनको विषय स्थायी कमिटी बैठकमा उठेको थियो । मन्त्रिपरिषद् पुनर्गठनका लागि दुई वर्ष पूरा गरेका र प्रभावकारी काम देखाउन नसकेका मन्त्रीहरूलाई बिदा गर्ने पहिलो सूत्र हुनसक्ने बुझिएको छ ।
मन्त्री बनाउने विषयमा अध्यक्षद्वय ओली र प्रचण्ड तथा महासचिव विष्णु पौडेलले गृहकार्य थालेको स्रोतले बतायो । केही मन्त्रीहरुको जिम्मेवारीसमेत हेरफेर गर्ने तयारी छ ।
सचिवालय सदस्यमध्ये ईश्वर पोखरेल र रामबहादुर थापा बादल मन्त्री छन् । दुवैलाई मन्त्री पदमा कायमै राखिए पनि जिम्मेवारी भने हेरफेर हुन सक्ने बताइएको छ ।
मन्त्रिपरिषद्मा नरहेका बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलसमेत प्राथमिकतामा पर्ने जनाइएको छ । तर, गौतम अहिलेसम्म सांसद नै बनेका छैनन् । त्यसैले उनलाई सांसद बनाएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।