काठमाडौं - त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत तारा बराल एकाएक चर्चामा आइन् । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई होइन, आफूलाई प्रधानमन्त्रीले राष्ट्रिय सभा सदस्य मनोनीत गर्नुपर्ने भन्दैे निवेदन दिएपछि उनी चर्चामा आएकी हुन् ।
बरालले राष्ट्रिय सभा सदस्य बन्न वामदेवभन्दा आफू किन योग्य छु भन्नेबारे एक मिडियालाई अन्तर्वार्ता दिँदै भनेकी छन्, ‘म त सिधै भन्छु म योग्य छु, किनकि मैले देशमा अपराध गरेकी छैन, तिनीहरुले गरेका छन् ।’
नेता वामदेवलाई इंगित गर्दै उनले भनेकी छन्, ‘कमिसन खाने, देश बिगार्ने अनुभव छ उहाँलाई, विदेशको एजेन्ट भएर काम गर्न अनुभव छ । त्यो मलाई छैन, त्यो मानेमा म योग्य छु ।'
बरालले आफू काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयमा मानवशास्त्रमा एमफिल गर्दै गरेको बताउँदै शैक्षिक योग्यताका हिसाबले समेत आफू योग्य भएको दाबी गरेकी छन् । उनले चुनावको नाटक गरेर हारेका व्यक्तिलाई सर्वोच्च पद कसरी दिन मिल्छ भन्दै प्रश्नसमेत गरेकी छन् ।
बरालले भनिन्, ‘चुनावको नाटक गर्नुपर्ने, हारेका व्यक्तिलाई सर्वोच्च पद दिनुपर्ने ?’ संघीय सांसदका लागि भएको चुनावमा वामदेव बर्दिया १ बाट काँग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।
उनले जनातालाई भेडा बनाउन खोजेको आरोपसमेत लगाएकी छन् । अन्तर्वार्ताका क्रममा बरालले भनिन्, ‘हारेका व्यक्तिलाई सर्वोच्च पद दिनुपर्ने ? हामी भेडा हो र ?’
उनले निर्वाचनमा भएको खर्च नेकपा अध्यक्ष केपी ओलीले मात्रै व्यहोर्नुपर्ने भन्दै वामदेव आफूले प्रतिस्पर्धी भएको खण्डमा त्यो ठाउँ आफूले पाउनुपर्ने बताएकी छन् ।
आफूले राष्ट्रियसभा सदस्यको पद नपाएको खण्डमा नेकपाको निर्णयले नै राष्ट्रिय सभा सदस्य राख्न पाइँदैन, कानुन मलाई पनि थाहा छ र यदि नेकपाले वामदेवलाई नै राख्यो भने आफूले ‘आफ्नो योग्यताको लिखित जवाफ’ खोज्ने बताएकी छन् ।
उनले भनेकी छन्, ‘यदि नेकपाले वामदेवलाई छानेछ र मलाई फ्याकेछ भने म राष्ट्रपतिसँग लिखित जवाफ माग्छु र कानुनमा जान्छु, अदालत जान्छु ।’
मुलुकको उच्च सदनमा पाँचजना हारेका व्यक्ति नेकपाका अध्यक्षले पुर्याइसकेको उनले बताएकी छन् । यति मात्रै हैन, उनले चुनावमा हारेका, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, भगवती न्योपानेलगायतलाई त्यहाँ स्थान दिनेहरुलाई ‘मोसो दलेर गलहत्याएर फाल्नुपर्ने र राष्ट्रपति र प्रधानमन्त्रीको बेइज्जत गर्नुपर्ने’ समेत उनले भनेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।