काठमाडौँ - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवहरूमध्ये हालसम्म २८० वटा शवको फरेन्सिक परीक्षण तथा डिएनए नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।
भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार गत भदौ १० गते रातिदेखि नै सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका शवहरू अस्पतालमा ल्याई संरक्षण गर्न थालिएको थियो। त्यसलगत्तै भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञहरूको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक पर्ने फरेन्सिक परीक्षण, डिएनएलगायतका जैविक नमूना सङ्कलन तथा अभिलेखीकरणको काम युद्धस्तरमा सुरु गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट कुल ३२१ वटा शव सङ्कलन गरिएको छ। तीमध्ये १२ वटा शवको सनाखत भइसकेकाले आफन्तको जिम्मा लगाइएको छ। सङ्कलित शवहरूमा ६६ जना महिला, ११६ जना पुरुष, ७ जना बालक, ६ जना बालिका र १२६ वटा पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शवहरू रहेका छन्।
भविष्यमा आफन्तले दाबी गर्न आएमा सहजै पहिचान गर्न सकिने गरी अन्तर्राष्ट्रिय मान्यताअनुरूप देवघाटस्थित व्यवस्थापन स्थलमा ती शवहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिएका छन्। जसअनुसार भदौ १३ गते ९६ वटा, भदौ १४ गते १०३ वटा र भदौ १५ गते ८१ वटा शव व्यवस्थापन गरिएको छ।
नदी किनारमा बेपत्ताहरूको खोजी गर्ने कार्य अहिले पनि दैनिक रूपमा निरन्तर जारी रहेको र नदीबाट फेला परेका शवहरूलाई भरतपुर अस्पताल ल्याई फरेन्सिक परीक्षण तथा डिएनए नमूना लिएर देवघाटमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने काम भइरहेको प्रशासनले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।