काठमाडौं । भारत सरकारको सहयोगमा सप्तरीको सुरुङ्गा नगरपालिकामा बन्न लागेको जनता माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गरिएको छ । बुधबार (हिजो) नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी, सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाका मेयर गीता चौधरी र नेपालका लागि भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त भवनको शिलान्यास गरेका हुन् ।
राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, सामाजिक कार्यकर्ता र विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थितीमा भवनको शिलान्यास गरिएको हो । ‘नेपाल–भारत विकास सहयोग’ परियोजना अन्तर्गत भारत सरकारको २ दशमलव ७६ करोड आर्थिक सहयोगमा जनता माध्यमिक विद्यालयको भवन निर्माण भइरहेको छ ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदानमा तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदैछ । परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको र सप्तरीको सुरुङ्गा नगरपालिका मार्फत कार्यान्वयनमा ल्याउन लागिएको भारतीय राजदुतावासले जनाएको छ ।

जनता माध्यमिक विद्यालय सन् १९५१ मा स्थापना भएको थियो । यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन हुँदै आएको छ । विद्यालयमा करिब ६ सय विद्यार्थीहरू रहेकोमा ६० प्रतिशत छात्राहरू रहेका छन् ।
विद्यालयको भवन शिलान्यास कार्यक्रममा खेलकुद मन्त्री, सुरुङ्गा नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरेका थिए । उनीहरूले निर्माण हुने पूर्वाधारले सप्तरीको जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५ सय ६३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ । हालसम्म ४ सय ९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । जसमध्ये ८२ वटा परियोजनाहरू मधेश प्रदेशमा छन् जसमा सप्तरीमा ९ वटा परियोजनाहरू रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १ हजार ९ वटा एम्बुलेन्स र ३ सय वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ । यी मध्ये मधेश प्रदेशमा २ सय २५ वटा एम्बुलेन्स र ३४ वटा स्कूल बस उपहार स्वरूप प्रदान गरिएको छ । जसमध्ये २४ वटा एम्बुलेन्स र २ वटा स्कूल बस सप्तरीमा उपहार स्वरूप प्रदान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।