काठमाण्डौ । आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ्ग र लोला खेली मनाउने गरिन्छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने चलन छ ।
हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणहरुमा उल्लेख छ ।
शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरूवात भएको मानिन्छ ।
केही वर्षदेखि रङ्गको पर्व होली सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ्ग र लोला हान्ने क्रम बन्द भएको छ । प्रहरीले होलीलाई सभ्य तरिकाले मनाउन आग्रह गरेको छ । होहल्ला नगरी, जाँडरक्सी तथा लागूपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध छ ।
यस्तै होली मनाउँदा आफ्नो स्वास्थ्य, सम्भावित दुर्घटना र सामाजिक मर्यादाबारे पनि ख्याल गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
रङ्गले कतिपयको छाला, फोक्सो तथा आँखामा एलर्जी गर्ने भएकाले यसतर्फ सचेत हुन डाक्टरको सुझाव छ । होली पर्वको अवसरमा आज हिमाली र पहाडी भेगमा सार्वजनिक बिदा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।