काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।
दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ ।
प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट अतिथि सहभागी हुनुहुने छ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रजातन्त्रकै जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि अझै नागरिकले भने र खोजेजस्तो नभएको भन्दै गुनासा र असन्तुष्टि बढिरहेका छन् । दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।