काठमाडौं- इलाम-२ मा वैशाख १५ गते हुने उपनिर्वाचनको मतदानको मिति नजिकिएसँगै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का बलियो उम्मेदवारको रुपमा देखिएका छन्। खड्का ०७९ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग १ सय १४ मतको झिनो अन्तरले उपविजेता बनेका थिए।
पिता नेम्वाङसँग टेस्ट म्याच खेलेको बताउने खड्काले अब ‘फाइनल खेल’ छोरा सुहाङ नेम्वाङसँग खेल्नुपर्ने भएको छ। सबै पहिचानवादी उम्मेदवारहरु भएका कारण साम्रदायिक मतहरु काटिँदा पनि कांग्रेस उम्मेदवार डम्बर खड्काको जित्ने सम्भावना बलियो बन्दै गएको हो।
इलाम इलाम–२ मा देउमाई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका सबै वडा यस क्षेत्रमा पर्दछन्। इलाम नगरपालिकाको वडा नम्बर १० बाहेक सबै वडा र माइ नगरपालिकाका वडा नम्बर ६, ७ र ८ यस निर्वाचन क्षेत्रमा पर्दछन्। गत स्थानीय तहको चुनावमा इलाम नगरपालिका र चुलाचुली गाउँपालिका कांग्रेसले जितेको छ। इलामा ४२ वडा पर्ने यस क्षेत्रमा २२ वडा अध्यक्ष कांग्रेसका छन्।
जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङक अनुसार २०७९ को निर्वाचनमा यहाँ १ लाख १५ हजार ३४२ मतदाता थिए। त्यसमध्ये ५९ हजार १३६ मत खसेको थियो। यहाँ १४ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। सो निर्वाचनमा खड्का जम्मा ११४ मतान्तरले मात्रै पराजित भएका थिए। जसमा एमालेका सुवास नेम्बाङले ३० हजार २० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार खड्काले २९ हजार ९०६ मत पाएका थिए। यद्पि उक्त निर्वाचनमा नेम्वाङलाई जिताउन धाँधली भएको भन्दै चर्को आलोचनासमेत भएको थियो।
यसपटकको उपनिर्वाचनमा सबै पार्टीले एकल प्रतिस्पर्धा गर्ने भएका छन्। जसमा अन्य सबै दलहरुले जनजाती समुदायबाट उम्मेदवार उठाएका छन्। जसका कारण मत बाँडिने सम्भावना रहेकोले पनि कांग्रेस उम्देवार खड्काले जित्ने आधार बलियो बन्दै गएको छ। नेकपा एमालेले सुवास नेम्वाङको छोरा सुहाङ नेम्वाङलाई, राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीबाट भर्खर प्रवेश गरेका मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ भने अन्य पार्टीहरुले पनि जनजाती उम्मेदवार उठाउनुका साथै पहिचान पक्षधरहरुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
नेकपा माओवादी केन्द्र र नेकपा एसले पनि उम्मेदवार उठाउने तयारी गरिरहेका छन्। यसका साथै यसअघि रास्वपाले पराजितलाई उम्मेदवार बनाउनुका साथै माओवादीबाट आएकालाई उम्मेदवार बनाएको भन्दै यसअघिका उम्मेदवार पनि असन्तुष्ट बनेका छन्। यसरी जनजाती समुदायबाट अधिकांश उम्मेदवार हुनु र सबै पार्टीले एकल प्रतिस्पर्धा गर्नुको फाइदा कांग्रेस उम्मेदवार खड्कालाई हुन्छ।
नेकपा एमालेमा सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएपछि लामो समय पार्टी राजनीतिमा लागेकाहरु असन्तुष्ट बनेका छन्। एमालेका सुहाङबाहेक नरेन्द्र भट्टराई, गणेश बराल, उदय राई, बुद्धि खनाल, रवीन्द्र सुवेदी लगायत आकांक्षी थिए। तर, पार्टीले इलाम-२ लाई बाबुको बिर्ता बनाएको र बाबुपछिको शेष छोरा सुहाङलाई सुम्पिएको भन्दै आन्तरिक असन्तुष्टि चुलिएको छ।
एकजना आकांक्षीले भने, 'इलाम-२ कसैका बाबुको बिर्ता होइन। यहाँ लामो समयदेखि रगत पसिना बगाएका नेता-कार्यकर्ताहरु हुनुहुन्छ र भोट फर 'SUN' बाट एमाले भोट फर 'SON' मा नै एमालेको हार हो।' यसका साथै नेकपा एमालेलाई पहिचान विरोधी पार्टीको ट्याग लागेको छ। यसअघि नेकपा एमालेको मध्य पहाडी लोकमार्ग यात्राका क्रममा नेकपा एमालेले पहिचान विरोधी काम गरेको भन्दै यात्रामा अवरोधसमेत भएको थियो।
तर, कांग्रेस उम्मेदवार खड्काले पनि पहिचान पक्षधरसँग एक्यबद्धता जनाउँदै संवादको माध्यमबाट पहिचानको मुद्दा समाधान गर्नुपर्नेमा जोड दिएका थिए। खड्काले जनजातीको पहिचानको मुद्दा र यसको विपक्षमा रहेकाहरुबीच पुलको काम गर्दै समस्या समाधान गर्नसक्ने भएकोले पनि खड्काप्रति मतदाताहरुको रुझान देखिन्छ।
कांग्रेस उम्मेदवार खड्का इलाम-२ मा उम्मेदवार बन्नुअघि नै समाजसेवाको छवीबाट आएका हुन्। यसका साथै उनको पार्टी केन्द्र र सरकारमा राम्रो पहुँच भएका व्यक्ति हुन्। राष्ट्रिय पहिचान बनाएका खड्काको पहुँचको फाइदा इलाम -२ को विकास निर्माणमा तीव्रता आउनेछ।
विकास निर्माणमा आफ्नै पैसा खर्च गरेर काम गरिरहेका खड्का निर्वाचित भएको अवस्थामा इलाम-२ को मुहार फेरिने आशा पनि मतदाताहरु रहेका देखिन्छन्। खड्काले चाहे सडक स्तरोन्नतीमा होस्, अथवा विद्यालय, मठमन्दिरको निर्माणमा खड्का अग्रपंक्तिमा रहन्छन्। यसअघि पनि चाहे कोरोना महामारीको संकटमा होस्, अथवा अन्य विपत्ति र आपतविपतमा होस्, जनताको सेवामा रातिदिन खटिने व्यक्ति भएकोले पनि खड्काको उम्मेदवारी सदरको सम्भावना प्रबल देखिन्छ।
को हुन् खड्का ?
इलाममा ०३२ सालमा जन्मिएका खड्का। कलिलै उमेरदेखि नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरे। उनी किसान परिवारमा हुर्किएका व्यक्ति हुन्। आफ्ना हजुरबाले नेपाल राज्य विस्तारका क्रममा टिस्टाको लडाइँ लडेको खड्का बताउँछन्।
डम्बरका बुबा सरकारी जागिरमा थिए। सात पुस्ता इलाम नै बसेका उनीहरू इलाम क्षेत्र नम्बर २ का स्थायी बासिन्दा हुन्। उनी सोही स्थानबाट ०७४ मा प्रदेश सांसद पनि लडेका थिए, तर जितेनन्। ०७९ को चुनाव पनि उनका लागि फापेन।
खड्काका श्रीमती तीन छोरा छन्। उनलाई छोरा र श्रीमतीले पनि राजनीतिमा अगाडि बढ्न हौसला दिइरहेको सुनाउँछन्। अन्डर एसएलसीसम्मको अध्ययन गरेका उनले राजनीतिक यात्रा भने करिब चार दशकभन्दा बढी भइसकेको बताए।
ठेक्कापट्टा व्यवसायसँगै राजनीति गरेका खड्काले ६ वर्ष अगाडिदेखि आफ्नो व्यवसाय छोराहरुलाई सुम्पिएका छन्। कक्षा ७ मा पढ्दा ०४१ सालमै आदर्श उच्च मावि इलाममा नेविसंघको सभापति भएर राजनीतिक यात्रा सुरु गरेको खड्का बताउँछन्। प्रजातन्त्र प्राप्तिका लागि ०४६ सालको आन्दोलनमा लाग्ने क्रममा जेल जीवनसमेत बिताएका उनी ०६२–०६३ सालमा पनि जेल परेका थिए।
दुई पटक जेल परेका उनी प्रहरीको कुटाइ खाएका डामले अहिले पनि शरीर पोल्ने गरेको सुनाउँछन्। ०४६ सालको यातना सम्झँदै उनी भन्छन्, ‘हातमा बेसार लागेको देखेपछि प्रहरीले भक्कु कुटेर जेलमा कोच्थ्यो। किनकि हामी बेसार दलेर पञ्चायती शासन मुर्दावाद भन्थौं।’
नेविसंघको जिल्ला सभापतिदेखि केन्द्रीय सदस्य हुँदै केन्द्रीय उपाध्यक्षसम्म भएका खड्का पार्टीको राजनीतिमा फर्किएर इलाम जिल्ला कोषाध्यक्ष हुँदै हाल जिल्ला सभापति छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।