काठमाडौं- नेपाली कांग्रेसको बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सहकारी ठगीका आरोपीसमेत रहेका रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन्।
काठमाडौंको मध्यबानेश्वरस्थित सनराइज ब्यान्क्वेटमा शनिबार भएको कांग्रेस बागमती प्रदेश भातृ संघ समन्वय विभागको पूर्णबैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसको बागमती प्रदेश सभापति बानियाँले लामिछानेले स्वार्थ बाझिने गरी मन्त्रालयको नेतृत्व गरिरहेकोले नैतिकता देखाउनुपर्नेसमेत बताएका हुन्।
कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले विपक्षीका आवाजलाई समेत सम्बोधन गर्ने गरेको भन्दै उनले कांग्रेस नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका वेला अनधिकृत व्यक्तिलाई प्रवेश दिएको भन्दै विपक्षीले माग गरेपछि संसदीय छानबिन समिति गठन भएको चर्चा गरे। तर, यसपटक विपक्षी दलका रुपमा रहेको कांग्रेसले सहकारीको ठगीबारे छानबिन गर्न बारम्बार समिति गठनको माग उठाइरहँदा पनि सरकारले बेवास्ता गरेको उनको भनाइ थियो।
‘कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ । तर, प्रधानमन्त्री र प्रहरी प्रमुख न्यायाधीशजस्तो बनेका छन् । एमाले छानबिन समिति बनाउन हुँदैन भनिरहेको छ,’ उनले भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले हिजो विपक्षीको पनि आवाजलाई सम्बोधन गर्यो । तर, कम्युनिष्टहरु लोकतान्त्रिक हुँदैनन् । त्यसैले जबरजस्ती गर्छन् । पेलेर जाने प्रयास गर्छन् । अहिले त्यही भइरहेको छ।’
उनले अस्थिरतालाई मिश्रित निर्वाचन प्रणालीका कारण बढेकाले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने समेत बताएका हुन्। ‘केही दल ०८४ को निर्वाचनमा एक सय ५० सिट ल्याउँछौँ भन्दै हिँडेका छन् । म ती दललाई भन्न चाहन्छु निर्वाचन प्रणाली बदलौँ र प्रत्यक्ष जित्ने प्रणाली मात्र राखौँ, अनि थाहा हुन्छ कसले कति सिट ल्याउन सक्छ,’ रास्वपातर्फ संकेत गर्दै सभापति बानियाँले भने।
बागमती प्रदेशका १३ जिल्लाबाट बैठकमा प्रतिनिधित्व गरिरहेका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई सुदृढ पार्टी बनाउने जिम्मेवारी पूरा गर्न युवाहरु गाउँगाउँ जानुपर्ने र जनतालाई वास्तविकता बुझाउनुपर्ने बताए ।
‘तपाईंहरुको काँधमा ठूलो जिम्मेवारी छ। गाउँगाउँमा, टोलटोल पुगेर कांग्रेस के हो? यसको इतिहास र बोक्दै आएको विचार कस्तो छ ? भन्नेबारे जनतालाई बुझाउनुपर्यो। त्यति मात्र होइन, नयाँ पार्टीका बोली र व्यवहार कति फरक छन् भनेर देखाउनुपर्यो, बुझाउनुपर्यो,’ उनले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।