काठमाडौं- आगामी वैशाख १५ मा हुने इलाम २ को उपनिर्वाचनका लागि कांग्रेसले जिल्ला सभापति डम्बरबहादुर खड्कालाई दोहोर्याउने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार आफ्नो निवास बुढानिलकण्ठ बोलाएर खड्कालाई जिल्ला गएर आफ्नो सम्पूर्ण तयारी गर्न निर्देशन दिइसकेका छन्।
यसका साथै सभापति देउवाले अन्य ६ जना आकांक्षीलाई पनि बोलाएर सभापति देउवाले सहयोग गर्न आग्रह गरिसकेका छन्। यसपटक पार्टीमा एकताबद्ध भएर कांग्रेस उम्मेदवारलाई जिताउने गरी आकांक्षीहरु पनि सहमत भएको कांग्रेस नेताहरुले बताउने गरेका छन्। स्थलगत अवस्थाबारे बुझ्न पार्टी महामन्त्री विश्वप्रकाश शर्मा इलाममा छन्। गत निर्वाचनमा झिनो मतान्तरले पराजित भएका खड्का यसपटक जित हात पार्ने लक्ष्यमा छन्।
यी हुन् जित्ने आधार :
चुनावी अंकगणतिमा कांग्रेसको पल्ला भारी
इलाम–२ मा देउमाई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका सबै वडा यस क्षेत्रमा पर्दछन्। इलाम नगरपालिकाको वडा नम्बर १० बाहेक सबै वडा र माइ नगरपालिकाका वडा नम्बर ६, ७ र ८ यस निर्वाचन क्षेत्रमा पर्दछन्। गत स्थानीय तहको चुनावमा इलाम नगरपालिका र चुलाचुली गाउँपालिका कांग्रेसले जितेको छ। इलामा ४२ वडा पर्ने यस क्षेत्रमा २२ वडा अध्यक्ष कांग्रेसका छन्।
जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङक अनुसार २०७९ को निर्वाचनमा यहाँ १ लाख १५ हजार ३४२ मतदाता थिए। त्यसमध्ये ५९ हजार १३६ मत खसेको थियो । यहाँ १४ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। सो निर्वाचनमा खड्का जम्मा ११४ मतान्तरले मात्रै पराजित भएका थिए। जसमा एमालेका सुवास नेम्बाङले ३० हजार २० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार खड्काले २९ हजार ९०६ मत पाएका थिए। यद्पि उक्त निर्वाचनमा नेम्वाङलाई जिताउन धाँधली भएको भन्दै चर्को आलोचनासमेत भएको थियो।
सबै पार्टीको एकल प्रतिस्पर्धा
यसपटकको उपनिर्वाचनमा सबै पार्टीले एकल प्रतिस्पर्धा गर्ने भएका छन्। जसमा अन्य सबै दलहरुले जनजाती समुदायबाट उम्मेदवार उठाएका छन्। जसका कारण मत बाँडिने सम्भावना रहेकोले पनि कांग्रेस उम्देवार खड्काले जित्ने आधार बलियो बन्दै गएको छ। नेकपा एमालेले सुवास नेम्वाङको छोरा सुहाङ नेम्वाङलाई, राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीबाट भर्खर प्रवेश गरेका मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ भने अन्य पार्टीहरुले पनि जनजाती उम्मेदवार उठाउनुका साथै पहिचान पक्षधरहरुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
नेकपा माओवादी केन्द्र र नेकपा एसले पनि उम्मेदवार उठाउने तयारी गरिरहेका छन्। यसका साथै यसअघि रास्वपाले पराजितलाई उम्मेदवार बनाउनुका साथै माओवादीबाट आएकालाई उम्मेदवार बनाएको भन्दै यसअघिका उम्मेदवार पनि असन्तुष्ट बनेका छन्। यसरी जनजाती समुदायबाट अधिकांश उम्मेदवार हुनु र सबै पार्टीले एकल प्रतिस्पर्धा गर्नुको फाइदा कांग्रेस उम्मेदवार खड्कालाई हुन्छ।
एमालेका आन्तरिक असन्तुष्टि र पहिचानविरोधीको ट्याग
नेकपा एमालेमा सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएपछि लामो समय पार्टी राजनीतिमा लागेकाहरु असन्तुष्ट बनेका छन्। एमालेका सुहाङबाहेक नरेन्द्र भट्टराई, गणेश बराल, उदय राई, बुद्धि खनाल, रवीन्द्र सुवेदी लगायत आकांक्षी थिए। तर, पार्टीले इलाम-२ लाई बाबुको बिर्ता बनाएको र बाबुपछिको शेष छोरा सुहाङलाई सुम्पिएको भन्दै आन्तरिक असन्तुष्टि चुलिएको छ।
एकजना आकांक्षीले भने, 'इलाम-२ कसैका बाबुको बिर्ता होइन। यहाँ लामो समयदेखि रगत पसिना बगाएका नेता-कार्यकर्ताहरु हुनुहुन्छ र भोट फर 'SUN' बाट एमाले भोट फर 'SON' मा नै एमालेको हार हो।' यसका साथै नेकपा एमालेलाई पहिचान विरोधी पार्टीको ट्याग लागेको छ। यसअघि नेकपा एमालेको मध्य पहाडी लोकमार्ग यात्राका क्रममा नेकपा एमालेले पहिचान विरोधी काम गरेको भन्दै यात्रामा अवरोधसमेत भएको थियो।
तर, कांग्रेस उम्मेदवार खड्काले पनि पहिचान पक्षधरसँग एक्यबद्धता जनाउँदै संवादको माध्यमबाट पहिचानको मुद्दा समाधान गर्नुपर्नेमा जोड दिएका थिए। खड्काले जनजातीको पहिचानको मुद्दा र यसको विपक्षमा रहेकाहरुबीच पुलको काम गर्दै समस्या समाधान गर्नसक्ने भएकोले पनि खड्काप्रति मतदाताहरुको रुझान देखिन्छ।
केन्द्रमा पहुँच र समाजसेवी छवि
कांग्रेस उम्मेदवार खड्का इलाम-२ मा उम्मेदवार बन्नुअघि नै समाजसेवाको छवीबाट आएका हुन्। यसका साथै उनको पार्टी केन्द्र र सरकारमा राम्रो पहुँच भएका व्यक्ति हुन्। राष्ट्रिय पहिचान बनाएका खड्काको पहुँचको फाइदा इलाम -२ को विकास निर्माणमा तीव्रता आउनेछ।
विकास निर्माणमा आफ्नै पैसा खर्च गरेर काम गरिरहेका खड्का निर्वाचित भएको अवस्थामा इलाम-२ को मुहार फेरिने आशा पनि मतदाताहरु रहेका देखिन्छन्। खड्काले चाहे सडक स्तरोन्नतीमा होस्, अथवा विद्यालय, मठमन्दिरको निर्माणमा खड्का अग्रपंक्तिमा रहन्छन्। यसअघि पनि चाहे कोरोना महामारीको संकटमा होस्, अथवा अन्य विपत्ति र आपतविपतमा होस्, जनताको सेवामा रातिदिन खटिने व्यक्ति भएकोले पनि खड्काको उम्मेदवारी सदरको सम्भावना प्रबल देखिन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।