सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गठबन्धन भत्किएर निराश छैनौं, थप बलियो बनेर प्रस्तुत हुने छौं : नेता विष्ट

गठबन्धन भत्किएर निराश छैनौं, थप बलियो बनेर प्रस्तुत हुने छौं : नेता विष्ट

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ३० २०८०

  • 1.8K
    SHARES

  • गठबन्धन भत्किएर निराश छैनौं, थप बलियो बनेर प्रस्तुत हुने छौं : नेता विष्ट

    दिपायल, २९ फागुन - नेपाली कांग्रेसका नेता आनन्द विष्टले गठबन्धन टुटेर कांग्रेसीहरू निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन्। नेपाल शिक्षक संघ डोटीको २४औं जिल्ला प्रतिनिधि सभालाई सोमबार सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका नेता विष्टले कांग्रेस लोकतन्त्र र लोकतन्त्रबाट प्राप्त भएका उपलब्धिको रक्षा गर्न सधैँ प्रतिबद्ध रहेकाले गठबन्धन टुट्दैमा निराश हुनुपर्ने अवस्था नरहेको बताए।

    नेकपा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक बेइमानीका कारण कांग्रेस सम्मिलित गठबन्धन टुटेको उनले बताए। ‘राजनीतिक बेइमानी गर्नेहरूका धेरै दिन रहँदैनन्। २०८४ मा जनताले हैसियत देखाइदिने छन्। कांग्रेसले लोकतन्त्रको संस्थागत विकास गर्नुपर्छ भन्दा आत्तिएर प्रचण्डजीले गठबन्धन तोड्नु भएको हो। उहाँको अस्थिर राजनीतिका कारण मुलुकले ठूलो क्षति बेहोरिरहेको छ,’ विष्टले भने।

    अब सिंगो पार्टी पङ्क्ति कांग्रेसलाई मतदान गर्ने वातावरण सिर्जना गर्न केन्द्रित हुनुपर्ने विष्टले बताए। गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन सबै नेताहरू इमानदार हुनुपर्ने उनको भनाइ छ।

    पार्टी सभापतिलाई मात्र दोषारोपण गरेर कोही चोखिन नसक्ने विष्टले बताए। ‘२०७४ को निर्वाचनमा गठबन्धन गर्नु भएन भनेर सभापतिको आलोचना भयो। २०७९ मा गठबन्धन भयो भनेर आलोचना गरियो। त्यसैले यस्ता आरोप प्रत्यारोपमा उत्रिनुभन्दा पनि हामी एक भएर अगाडि बढ्नुपर्छ। एक भएर जनताका माझमा गयौं भने हामीलाई दुई तिहाइ ल्याउन कसैले रोक्न सक्दैन,’ उनले भने।

    मुलुकको सबैभन्दा पुरानो र विश्वसनीय दल कांग्रेस रहेकाले जनताले समृद्धिका लागि सुदृढ कांग्रेस खोजिरहेको विष्टको भनाइ छ। डोटी कांग्रेसको गड भए पनि अन्तरघातको सिकार भइरहेको उनको दुखेसो छ।

    यसका साथै मुलुकको दक्ष जनशक्ति निर्माणमा र लोकतन्त्रको रक्षामा शिक्षकहरूको ठूलो भूमिका रहँदै आएको उनले स्मरण गरे। सत्यको बाटोमा हिँड्ने भएकाले शिक्षकमाथि सबैको विश्वास रहने विष्टले बताए।

    तर, अझैँ पनि नेपालको शैक्षिक क्षेत्रमा कतिपय कुरामा सुधार गर्नुपर्ने उनको धारणा थियो। प्रविधिको विकाससँगै गुरु र चेलाको सम्वन्ध मित्रवत् हुनुपर्ने बताए।

    शिक्षक संघ डोटीका अध्यक्ष नवराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य भरत खड्का, कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका मेयर विजय खड्का, शिखर नगरपालिकाका मेयर दीर्घ बलायर, केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही, कांग्रेस महासमिति सदस्य सिताराम जोशी, पार्टी सचिव नारायण बलायर, शिक्षक संघका सुदूरपश्चिम अध्यक्ष डिल्लीराज पन्त, ट्रेड युनियन सुदूरपश्चिम महासचिव गणेश मल्ललगायतले आफ्नो भनाइ राखेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण ३० २०८००९:२४:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend