काठमाडौं - केन्द्रीय रिफरल पशु चिकित्सालयका अनुसार नेपालमै बाँदरको बन्ध्याकरण गर्ने गरिन्छ । घरमा पालेका बाँदरको पशु चिकित्सालयमा बन्ध्याकरण गरिन्छ ।
बाँदरको बन्ध्याकरण गर्ने विधि अरु जनावरको जस्तै छ । बाँदरको बन्ध्याकरण एकैपटक धेरैको गर्नुपरे जनशक्ति व्यवस्थापन गर्नुपर्ने र यसका लागि जनशक्ति बढाउन अध्ययन अध्यापन वा तालिमको आवश्यकता पर्न सक्ने भन्दै कारण १० जना भेटेरिनरियन र पाँचजना रेन्जरसहितको टोली तालिमका लागि भारत जाने तयारीमा छ ।
तर यही समयमा बाँदरको बन्ध्याकरण अध्ययन गर्न भन्दै प्रतिनिधिसभाका १९ जना सांसद माघको अन्तिम वा फागुनको पहिलो साता भारत भ्रमणका लागि जाने भएका छन् ।
बाँदर बन्ध्याकरण अध्ययनमा रुचि देखाएर ती सांसदले नाम टिपाएको संसद्को कृषि समितिले जानकारी दिएको छ । बाँदरको बन्ध्याकरणबारे थप तालिम लिन प्राविधिकहरु जाने तयारी भइरहेका बेला सांसदहरु सरकारी खर्चमा बन्ध्याकरण अध्ययन भ्रमणमा गएर राष्ट्रलाई के उपलब्धि होला भन्ने चासोको विषय बनेको छ ।
सांसदहरूले अध्ययन गरेर आए पनि बाँदरको बन्ध्याकरण उनीहरूले गर्ने भने होइनन् । भारत जान नाम टिपाउने सांसदमा अनिशा नेपाली, अमृतलाल राजवंशी, अशोककुमार चौधरी, कुसुमदेवी थापा, गंगाप्रसाद यादव, दिक्पालकुमार शाही, रुपा सोसी चौधरी, विजुला रायमाझी, वीरबहादुर बलायर, सरस्वती श्रेष्ठ, सूर्यकुमार श्रेष्ठ, सूर्यप्रसाद ढकाल, सोनु मुर्मु, नवलकिशोर साह सुडी, विनिता कठायत, मनवीर राई, मिना तामाङ, योगेन्द्र मण्डल र रुपा विक छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।