काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन ७ गतेसम्म कुर्न भनेकाले प्रचण्ड अन्योलमा परेका छन् ।
प्रचण्डले पुसमै आधाजसो मन्त्रीलाई हटाउने तयारी गरेका थिए । तर कांग्रेसले इच्छा नदेखाएपछि उनले एकल निर्णय गर्न सकेका छैनन् । कांग्रेसले फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक आह्वान गरेको छ ।
बैठक नसकिएसम्म कांग्रेस सभापति देउवा कलह उत्पन्न होस् भन्ने चाहन्नन् । तर प्रचण्डले निरन्तर दबाब दिइरहेका छन् । कांग्रेसमा कलह उत्पन्न भए आफ्नो सत्ता निरन्तर चल्ने विश्वासमा उनी छन् ।
स्रोतका अनुसार प्रचण्डले चाँडै सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारबाट हटाउने भएका छन् । जनमत पार्टी निरन्तर केन्द्र र मधेस प्रदेश सरकारविरुद्ध केन्द्रित भई विरोध प्रदर्शनमा लागेपछि सो पार्टीलाई हटाउने तयारी भएको हो ।
जनमतसँग ६ सांसद छन् । जनमतलाई हटाउने माधवकुमार नेपाल र उपेन्द्र यादवले दबाब दिइरहेका छन् । जनमतलाई सरकारबाट हटाएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई भित्र्याउने प्रचण्डको तयारी रहेको बुझिएको छ ।
यसबारे प्रचण्डले रवि लामिछानेसँग पटकपटक कुराकानी गरे पनि आफूलाई गृह मन्त्रालय दिए मात्र आउने उनले जनाउ दिएका छन् । तर प्रचण्डले रविलाई नभई पार्टीकै अरु नेतालाई पठाउन भनेका छन् ।
यही विषयले रास्वपाको सत्ता आरोहण रोकिएको हो । तर आफूमाथि सहकारी ठगीले निकै समस्या बनाएपछि रवि जसरी हुन्छ सरकारमा सामेल हुने गृहकार्यमा लागेको बुझिएको छ ।
रवि गोरखा मिडिया नेटवर्कको एमडी हुँदा पोखराको सूर्यदर्शन सहकारी र चितवनको सहारा सहकारीबाट ५२ करोड रुपैयाँ कर्जा लिएको भेटिएपछि रवि विवादमा तानिएका हुन् ।
आफूमाथि कान्तिपुर दैनिकले लगातार समाचार छापेपछि रविले सोमबार पत्रकार सम्मेलनमार्फत त्यसबारे जानकारी दिने भएका छन् । सोमबारको कान्तिपुर दैनिकले सहकारीको बचतबाट रविको खातामा एक करोड ८० लाख जम्मा भएको समाचार छापेको छ ।
जुन समाचारलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि रविले पत्रकार सम्मेलनमार्फत आफूमाथि लागेको आरोपबारे प्रस्टीकरण दिने भएका हुन् । उनले आफू निर्दोष भएको दाबी पनि गरेका छन् ।
‘गाली गर्न कोही छुट्नु भो किरु छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका स्लिपमा कोही स्लिप हुनै पर्दैन। बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु,’ उनले भनेका छन् । सरकारमा गएर आफूमाथि लागेको आरोप सामसुम गर्नसकिने विश्वास उनले लिएको देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।