काठमाडौं - बालुवाटारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए भने माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।
नेताहरुबीच प्रदेशहरुको मतभारको आधारमा गठबन्धन गर्ने गरी छलफल भएको बुझिएको छ । कुन प्रदेशमा कुन पार्टीको मतभार कति छ भन्ने विश्लेषण भएको नेताहरुले जानकारी दिएका छन्।
राष्ट्रपतिबाट मनोनितसहित २० जना राष्ट्रियसभा सदस्यको पद रिक्त हुने भएपछि माघ ११ गते चुनाव तोकिएको छ ।
२० सिटमध्ये कांग्रेसले कम्तिमा दश सिट आफूले पाउनु पर्ने अडान सत्ता गठबन्धनमा राखेको छ । निर्वाचनका लागि यही पुस २३ गते मनोनयन दर्ता गर्ने तालिका छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।