काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामप्रति सार्वजनिक रूपमै असन्तुष्टि पोखेका छन् ।
उनले आफूले एक वर्षअघि दिएको निर्देशन सचिवहरूले पूरा गर्न नसकेको भन्दै सरकारको काम निराशाजनक रहेको बताए ।
प्रधानमन्त्रीपछि गृहमन्त्री निकै क्रियाशील हुनुपर्छ । देशको दैनिक प्रशासनिक र शान्ति सुरक्षाको काम गृह मन्त्रालयले हेर्ने गर्छ ।
तर केही महिनायता गृह मन्त्रालय आफैं बिरामी छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगातार बिरामी पर्दा सरकारले डेलिभरी दिन सकिरहेको छैन ।
असोज दोस्रो साता चीन पुगेका श्रेष्ठको मुटुमा गम्भीर समस्या देखिएपछि उतै एक महिना बसे । नेपाल आएपछि पनि उनी दुई सातासम्म सार्वजनिक रूपमा देखिएनन् ।
केही दिन मन्त्रालय पुगेका श्रेष्ठ अहिले हर्ट अट्याकभन्दा अगाडिको अवस्थामा अस्पताल पुगेकाले उपचारका क्रममा छन् ।
चिकित्सकले अझै पाँच दिन उनलाई अस्पतालमै रहन सल्लाह दिएकाले उनी मंसिर महिनाभर मन्त्रालय जान सक्ने अवस्था रहन्न ।
जनतामा सरकारको कामप्रति असन्तुष्टि बढिरहेका बेला गृहमन्त्री आफैं विरामी पर्दा प्रचण्डलाई ठूलै संकट आइपरेको छ ।
पुस तेस्रो साता मन्त्रिपरिषद् पुनर्गठनमा लागेका प्रचण्ड सबैभन्दा पहिले नारायणकाजी श्रेष्ठलाई सरकारबाट बिदा दिने मनस्थितिमा पुगेको बुझिएको छ ।
सकभर आफ्नै पार्टीबाट गृहमन्त्री बनाउने नभए रास्वपालाई सरकारमा ल्याएर रवि लामिछानेलाई मन्त्रालयको जिम्मेवारी दिने तयारीमा प्रचण्ड रहेको चर्चा सुरु भएको छ ।
बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो र शुक्रबार धादिङबाट दुई किलो सुन बरामद भयो ।
गृह मन्त्रालयको नेतृत्वकर्ता विरामी परेर अस्पतालमा बस्दा तस्कर र आपराधिक समूहको मनोबल बढेको छ ।
यही बेलामा तस्करहरूले आफ्नो काम तमाम गर्न लागेको दुईवटा घटनाले देखाएको छ । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डमाथि राजीनामा दिन दबाब बढाइरहेका छन् ।
हरेक जिल्लामा पुगेर भाषण गर्दै ओलीले प्रचण्डले सरकार चलाउन नसकेको भन्दै आएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अस्थायी संयुक्त सरकार गठनको प्रस्ताव गर्नु, नेत्रविक्रम चन्द विप्लवलगायतका नेतालाई पक्राउ पुर्जी जारी हुनु, राप्रपालगायतका दलले राजा चाहियो भन्दै आन्दोलनका कार्यक्रम तयार गर्नु र यहीबेला गृहमन्त्री विराम भई काममा आउन नसक्दा देशको शान्ति सुरक्षा ‘कोमा’ मा पुगेको विश्लेषण हुन थालेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।