काठमाडौं - वैशाख २४ गते सुरु भएको प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा हालसम्म ४८ वटा बैठक बसेको छ । यो अवधिमा सुन तस्करी प्रकरणलाई लिएर पाँचपटक बैठक अवरुद्ध भए ।
सत्तापक्ष र प्रतिपक्षबीच छानबिन समिति बनाउने या नबनाउने भन्नेमा विवाद देखिँदा साउन १०, २३, २४, २६ र २९ गतेका बैठक अवरुद्ध भए ।
अब एकैचोटि भदौ ३ गते बैठक बोलाइएको छ । तर अहिलेसम्म दलहरूबीच संवाद नभएकाले सो दिनको बैठक पनि प्रभावित हुने खतरा छ । सदन नचले पनि सांसदले भत्ता भने लिइरहेका छन् । उनीहरुले हाजिर गरेमात्रै दैनिक दुई हजार रुपैयाँ पाउँछन् ।
सांसदले मात्रै होइन, बैठक आह्वान गरेपछि सचिवालयले बैठक सञ्चालनका लागि बत्ती, पानी, स्टेसनरी, सुरक्षा, स्वास्थ्यलगायतका विभिन्न शीर्षकमा खर्च गर्छ ।
बैठकको पूर्वतयारी गरेर यो अधिवेशनमा मात्रै दलहरुबीच कुरा नमिल्दा पशुपतिको जलहरी प्रकरणदेखि सुन तस्करी प्रकरणसम्ममा नौवटा बैठक सूचना टाँसेर स्थगित भएका छन् ।
त्यसमा पनि राज्यको रकम खर्च भएको छ । एउटा बैठक सञ्चालनका लागि आवश्यक पूर्वतयारीदेखि सांसदलाई उपलब्ध गराउने यातायात र बैठक भत्तासम्म गरेर प्रतिबैठक करिब सात लाख खर्च हुने गरेको संसद् सचिवालयले जनाएको छ ।
बैठक नै नचले पनि सांसदहरुले भत्ता लिँदा र बैठक स्थगित हुने जान्दाजान्दै पनि बैठक राखेकै कारण राज्यकोषको दुरुपयोग भएको छ ।
त्यसैले दलहरुबीच कुरा नमिलेसम्म बैठक नै आह्वान गर्न नहुने र सांसदहरुले हाजिरीको भरमा मात्रै भत्ता लिन नहुने र नैतिकता देखाउनुपर्ने आवाज उठ्न थालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक टकरावका कारण संसद नचल्दा आफूले पाउने सेवासुविधा नलिने भनेको छ । त्यसका लागि उसले सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाइसकेको छ ।
तर अन्य दलले त्यति पनि नैतिकता देखाउन सकेका छैनन् । कार्यसूचीमै प्रवेश नगरी साउन महिना त्यतिकै बितेको छ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद् बैठक साउन १० गतेदेखि नियमित सञ्चालन हुन सकेको छैन ।
संसद् सचिवालयले बैठक आह्वान गर्छ, दलहरुबीच कुरा नमिल्दा बैठकको कारबाही नै सुरु नभई स्थगित गरिन्छ । तर बैठक नचलेकै दिन पनि सांसदहरुले भत्ता र सुविधा लिन भने छाडेका छैनन् ।
जसकारण राज्यकोषको दैनिक लाखौं रुपैयाँ खर्च हुने गरेको छ । सोहीकारण पनि अहिले दलका नेताहरूप्रति जनमानसमा आक्रोश बढेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।