काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरेर बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणले राजनीतिक दलहरूको ज्वरो बढाएको छ ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।
एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने र माओवादीका अर्का उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरालाई नौ किलो सुन आयातका विषयमा अनुसन्धानको दायरामा ल्याउनुपर्ने अडान राख्दै आएको छ ।
प्रमुख प्रतिपक्षी एमाले, रास्वपा, राप्रपा मात्र होइन, सत्तारुढ नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समितिको माग राख्दै आएको छ । तर सरकारले भने आवश्यक नभएको भन्दै आएको छ ।
राजस्व अनुसन्धान विभाग र प्रहरीले अनुसन्धान गरिरहेका बेला अर्को समिति आवश्यक नरहेको सत्ता पक्षको जिकिर छ । एमाले भने अडानबाट पछि हट्ने मनस्थितिमा छैन ।
उसले सुन तस्करी प्रकरणमा सरकारकै उच्चपदस्थ व्यक्तिको संलग्नताको आशंका गरिरहेको छ । उच्चस्तरीय समितिले मात्र त्यसले निष्पक्ष छानबिन गर्न सक्ने एमालेको जिकिर छ ।
सत्तारुढ र विपक्षी दलबीचको अडानकै कारण संघीय संसदका दुवै सदनको काम प्रभावित हुँदा पनि राजनीतिक तहमा गम्भीर छलफलसम्म भएको छैन ।
राज्यका संयन्त्रले अनुसन्धानको काम गरिरहेकाले प्रतिपक्षीले भनेको बाटोमा जान आवश्यक नै नभएको सरकारको तर्क छ । सुन तस्करी प्रकरणलाई लिएर सत्तापक्ष र प्रतिपक्षीको अडानकै कारण सदनले कानुन बनाउने काम अघि बढाउन सकेको छैन ।
जबकि यो अधिवेशन कानुन बनाउनकै लागि लम्ब्याइएको हो । तर अवरोध हटाउन न सत्तापक्ष न प्रतिपक्षीले नै बीचको बाटो अबलम्बन गर्न सकेका छन् । गृहमन्त्री श्रेष्ठले सुनकाण्डमा जो मुछिए पनि कारबाही गरेरै छाड्ने बताउँदै आएका थिए ।
तर एक सातायता गृहमन्त्री ‘भूमिगत’ जस्तै भएका छन् । उनी कहीँकतै सार्वजनिक रूपमा सुन तस्करी प्रकरणबारे बोल्न चाहेका छैनन् ।
चिनियाँ नागरिकले इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याएको नौ किलो सुनमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल तथा एक क्विन्टल सुनकाण्डका मुख्य आरोपी दावा छिरिङसँग माओवादी उपमहासचिव वर्षमान पुन, ओनसरी घर्ती, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलगायतको उठबस देखिएपछि गृहमन्त्री श्रेष्ठको बोली सुक्दै गएको हो । एमाले कुनै पनि हालतमा सुनकाण्डबारे पछाडि नहट्ने देखिएपछि गृहमन्त्री श्रेष्ठलाई आपत् परेको छ ।
एमालेले स्वयं गृहमन्त्रीकै संलग्नता हुन सक्ने आशंका गरेको छ । केही दिनअघि नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सार्वजनिक रूपमा भनेका थिए– ‘अब केही दिनमा एउटा ठूलो काण्ड सार्वजनिक हुनेछ, त्यसले सुनकाण्डमा सामसुम बनाइनेछ । राजनीतिक नेक्सस जोडिएका काण्ड निष्कर्षमा पुग्दैन ।’
अहिले नेता कोइरालाको भविष्यवाणी ठ्याक्कै मिल्ने हो कि भन्ने दिशातर्फ सुन तस्करी प्रकरण पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।