काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पार्टीभित्रै कांग्रेसलाई खुइल्याउने प्रवृत्ति बढेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
केन्द्रीय समितिको जारी बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै उनले कांग्रेसका नेतामा अन्य दलका नेताहरूका गल्ती औंल्याउने क्षमता नदेखिएको बताए ।
बस्नेतले बालकृष्ण खाणलाई पक्राउ गरेकोमा गृहमन्त्रीलाई धन्यवाद दिन जाने कांग्रेस केन्द्रीय सदस्यहरूले सुनकाण्डमा मुछिएका नारायणकाजी श्रेष्ठ र कृष्णबहादुरमहराको विरोध गर्ने आँट नदेखाएको बताए ।
शरणार्थी काण्डमा अख्तियार प्रमुख प्रेमकुमार राईको नाम आउँदा पनि कांग्रेस नेताहरूले विरोध नगरेको उनको भनाइ थियो । उनले अरूको नाम आउँदा चुप लागेर बस्ने, तर आफ्नो पार्टीका नेताको नाम आउँदा राजीनामा माग्ने धारणा गलत भएको बताए ।
एक महिनामा २९ पटक एयरपोर्टबाट सुन भित्रिएको भन्दै बस्नेतले गृहमन्त्रीको राजीनामा माग्न जाने कि नजाने ? भन्ने प्रश्न गरे । ‘सुनकाण्डमा नारायणकाजीको नाम आयो, महराको नाम आयो । केपी ओलीको पनि नाम आएको छ । यो विषयमा नेपाली कांग्रेसले बोल्ने कि नबोल्ने ? हाम्रो साथीहरूको नाम आए चर्को चर्को कुरा गर्नुहुन्छ । जाऊ न त नारायणकाजीको नाम आइसकेको छ । अब उहाँको विषयमा राजीनामा माग्न जाऔं । को को मान्छे सुन तस्करीमा परेका छन् । यो सुनको विषयमा छानबिन हुने कि नहुने ? साथीहरू गृहमन्त्रीकोमा जाने कि नजाने ?’ उनले प्रश्न गरे । उनले अब नेपाली कांग्रेसले आर्थिक क्रान्ति गर्नुपर्ने र जनताको हकअधिकारको लागि लड्नुपर्ने धारणा राखे । नेता ,सांसद र मन्त्री जोकोही पनि बन्न सक्ने, तर राजनेता हुन सक्नुपर्ने बस्नेतको भनाइ थियो ।
कांग्रेस रुपान्तरण अभियानका मधु आचार्य, गुरु घिमिरेलगायतका नेताहरूले नक्कली शरणार्थी प्रकरणको छानबिनका क्रममा गृहमन्त्रीलाई भेटेर धन्यवाद दिएकोमा कांग्रेस बैठकमा संस्थापन पक्षका नेताहरूले तीव्र विरोध गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।