काठमाडौं - एक सय किलो सुन बरामद काण्डपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमाले निकट पत्रकारबीच ‘वार’ सुरु भएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठकै संलग्नतामा भन्सारबाट तस्करहरुले ‘सुन पास गराएको’ भन्दै एमालेसम्बद्ध प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले फेसबुकमा लेखेपछि अहिले माओवादी पत्रकार र एमाले पत्रकारबीच सामाजिक सञ्जालमा हानाहान चलिरहेको छ ।
फेसबुकमा लेखेको स्टाटसलाई लिएर गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्युरोमा बिहीबार उजुरी दिएपछि विवाद उत्कर्षमा पुगेको हो ।
बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करीमा गृहमन्त्रीको संलग्नता रहेको र अर्थमन्त्रीले समात्न लगाएको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए ।
आफूविरुद्ध उजुरी परेपछि अध्यक्ष बस्नेतले साइबर क्राइम प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । गृहमन्त्रीलाई खुला चुनौती भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘कमरेड नारायणकाजीबाट यही अपेक्षा थियो, खुसीको खबर सुनियो, दिनभर समाचार लेखाइयो, अनि प्रहरीलाई निर्देशन दिइयो, ‘साइबर क्राइम लगाऊ ।’
चौतारी सम्बद्ध पत्रकारहरूले गृहमन्त्री श्रेष्ठकै आडमा माओवादी पत्रकारहरूले लाल आतंक मच्चाएको एमाले पत्रकारहरूको आरोप छ ।
अहिले देशभरिका चौतारी सम्बद्ध पत्रकारले फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री श्रेष्ठविरुद्ध विष वमन गरिरहेका छन् ।
आफूविरुद्ध स्टाटस लेखेपछि श्रेष्ठले बस्नेतलाई फोन नै गरेर किन यस्तो स्टाटस लेखेको भनेर सोधेका थिए । यो विषयले अहिले एमाले र माओवादी पार्टीबीच नै सम्बन्धमा दरार उत्पन्न हुने अवस्था देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।