काठमाडौं - ११ महिनापछि मंगलबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक विषय, सांगठनिक कार्ययोजना, कार्यसम्पादन समिति बैठकका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस, नीति अधिवेशनको प्रस्ताव, विभाग गठन, राष्ट्रव्यापी अभियानको घोषणा, अनुशासन समिति प्रतिवेदन पेस, संसदीय दल समीक्षा र केन्द्रदेखि प्रदेशसम्मका सरकारको समीक्षा गरी १० वटा एजेन्डा राखिएको छ ।
अहिलेसम्म विभिन्न बहाना बनाउँदै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक टार्दै आएका थिए । जबकि कांग्रेस विधानमा दुई महिनामा एकपटक केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ ।
सोही विषयलाई कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जबर्जस्त उठाउँदै आएका छन् । तर संस्थापन पक्षधर नेताले यसलाई ठूलो इस्यु बनाए । महामन्त्रीद्वयमाथि विभिन्न लाञ्छना लगाइयो ।
किनभने केन्द्रीय समितिमा संस्थापन पक्षको बहुमत छ । त्यही बहुमतको आडमा महामन्त्रीद्वयले कांग्रेसलाई पुनःसंरचना गर्न र सुधार गर्न राखेको विषयलाई बेवास्ता गर्दै सभापति निकट नेताहरूले परम्परागत ढर्रामै पार्टी चलाउनुपर्छ भन्दै आएका छन् ।
मंसिरको निर्वाचन र वैशाखको उपनिर्वाचनले अहिलेकै अवस्थामा कांग्रेस चल्न सक्ने संकेत देखिएको छैन । त्यही भएर पार्टीको संरचनामा सुधार गर्नुपर्ने महामन्त्रीद्वय थापा र शर्माको भनाइ छ ।
पार्टी नेतृत्वलाई उनीहरूले दबाब दिँदै आएका छन् । तर देउवा निकट नेताहरूलाई यो कुरा मन परेको छैन । युवाहरू पार्टी नेतृत्वमा आउँदा आफ्नो भाग खोसिने डरले थापा र शर्मालाई कमजोर देखाउने प्रयत्न जारी छ ।
यो विषय सोमबारको पदाधिकारी बैठकमा पनि देखियो । पदाधिकारीसँगको छलफलका क्रममा सभापति शेरबहादुर देउवाले आजदेखि बस्ने केन्द्रीय समिति बैठकमा प्रत्यक्ष प्रसारणको प्रस्ताव गरे ।
बैठकको सुरुमै यसबारे छलफल भएको थियो । तर, यसबारे फरकफरक धारणा आयो । लाइभ राख्दा महामन्त्री थापा र शर्माले के बोल्छन् भनेर संस्थपन पक्षले यस्तो फन्डा राखेको थियो । लाइभ हुँदा थापा र शर्माले पार्टी सुधारका कुरा राख्न सक्दैनन् भन्ने बुझाई देउवा पक्षमा रहेको देखियो । धेरैले लाइभ गरे पनि हुन्छ भन्ने धारणा राखे ।
तर कुनै निर्णय भएन । केन्द्रीय समिति बैठक लाइभ गर्ने कि नगर्ने भन्ने विषय आज मात्रै टुंगो लाग्ने छ । तर कसको सल्लाहमा देउवाले लाइभको प्रस्ताव गरेका हुन् भन्ने अझै खुलेको छैन ।
किनभने देउवा धेरै बोल्न सक्ने नेता होइनन् । प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्मालगायतको सुझावमा देउवाले यस्तो फन्डा निकालेको स्रोतले बतायो ।
पार्टीको छलफल बन्द रूपमा हुने र छलफलका लागि सहज हुने परम्परा भएकाले लाइभ हुने नहुने निश्चित छैन । सात महिनाअघि मात्रै सभापति देउवासँग पराजित थापाले पुनः संसदीय दलको नेतृत्व लिने आकांक्षा देखाएपछि संस्थापन पक्षमा भुइँचालो गएको छ ।
पार्टीभित्रको शक्ति सन्तुलन झनै प्रतिकूल बन्दै गएका वेला उनले निरन्तर दलको नेतृत्व हेरफेरको मुद्दा उठाइरहेकाले पनि अब बस्ने केन्द्रीय समिति बैठकमा उनलाई घेराबन्दी पार्ने प्रयास सुरु भएको नेताहरुले बताउन थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।