काठमाडौं - पछिल्लो समय नेपालका अधिकांश सहकारीको हालत खराब भएका छन् ।
धेरैजसो सञ्चालकको बदमासी र नेताहरूले आफ्ना मान्छेलाई ऋण झिकिदिने गर्नाले सहकारी डुबेका छन् ।
मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेको साई सहकारीको पाँच करोड हिनामिनाको सूचना सार्वजनिक भएको थियो ।
बुधबार माओवादी नेता वर्षमान पुनकी श्रीमती एवं पूर्वसभामुख ओनसरी घर्ती मगरको नाम पत्रिकामा सार्वजनिक भएको छ ।
माओवादी नेतृ घर्तीलाई धनजमानी बसेर लिइएको ऋण चुक्ता गर्न सहकारीले ताकेता गरेको छ । घर्तीका नाममा ललितपुर,पुल्चोकको लालीगुराँस बहुउध्देश्यीय सहकारी संस्था लिमिटेडले १५ दिने सूचना जारी गरेको हो ।
यसअघि २१ दिने सूचना जारी गरे पनि ऋणीले कर्जा चुक्ता नगरेपछि बुधबार ऋणीसहित धनजमानी बसेकी घर्तीको तीन पुस्ते खुलाएर पत्रिकामा सूचना प्रकाशित गरिएको हो ।
ओनसरीले केशव रावललाई व्यक्तिगत जमानतमा कर्जा दिलाएकी थिइन् । काठमाडौंको बालुवाटार बस्ने रोल्पाको तत्कालीन जँकोट गाविसकी घर्तीले नागरिकता र पदीय मर्यादामा व्यक्तिगत जमानी दिलाएको सहकारीले जनाएको छ । उनले रुकुम घर भई नयाँ बानेश्वर बस्ने ३४ वर्षे केशव रावललाई कर्जा दिलाएकी थिइन् ।
सहकारीले कति ऋण लिएको हो भन्ने खुलाएको भने छैन । ‘यस सूचना प्रकाशित मितिले १५ दिनभित्र संस्थालाई बुझाउनुपर्ने बाँकी रहेको सम्पूर्ण रकमसमेत चुक्ता गर्नुहोला । अन्यथा, ऋणी तथा व्यक्तिगत जमानी बस्ने व्यक्तिहरुको चल अचल सम्पत्तिहरुबाट र कानुनबमोजिम निजहरुको घर घरानाबाट समेत असुल उपर गरिने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
यदि रावलले समयमै ऋण चुक्ता नगरे ओनसरीकै सम्पत्तिबाट ऋण उठाउने सहकारीको तयारी देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।