काठमाडौं - माओवादी, जसपा, एकीकृत समाजवादी र विव्प्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाका सूत्राधार बाबुराम भट्टराई हुन् ।
तर, उनलाई नै माइनस गर्दै सोमबार मोर्चा गठन भयो । उनलाई निमन्त्रणासमेत गरिएन । त्यसपछि बाबुरामले मोर्चाबारे टिप्पणी गर्दै भने, ‘केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’
उनले समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको भन्दै प्रधानमन्त्री प्रचण्डको कडा आलोचना गरेका छन् ।
‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो। कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस् । केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्,’ उनले समाजवाद मोर्चाबारे टिप्पणी गर्दै भनेका छन् ।
बाबुराम नै असन्तुष्ट बनेपछि अहिले प्रधानमन्त्री प्रचण्ड उनीनिकट नेताहरूलाई फकाउन थालेका छन् । मंगलबार बिहानै उनले नेपाल समाजवादी पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए ।
बिहान पौने ८ बजेदेखि प्रचण्डले माओवादी महासचिव देव गुरुङ, ऊर्जामन्त्री शक्ति बस्नेतसँगै नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव र बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठसँग कुराकानी गरेका थिए ।
प्रचण्डले बाबुरामलाई चाँडै मोर्चामा ल्याउने आश्वासन दिएको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।