काठमाडौं - नेपाली कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्न माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लव नेकपा मिलेर सोमबार समाजवादी मोर्चा गठन हुँदैछ ।
तर गठबन्धनको सूत्राधार डा.बाबुराम भट्टराईलाई भने सहभागी गराइएको छैन । जबकि बाबुरामको नेपाल समाजवादी पार्टीले माओवादीकै चुनाव चिह्न लिएर उम्मेदवार उठाएको थियो ।
मोर्चामा बाबुराम जसपा अध्यक्ष उपेन्द्र यादवको असहमतिका कारण अटाउन नसकेको बताइन्छ । उपेन्द्रले नचाहँदैमा बाबुराम नअट्ने भन्ने हुँदैनथ्यो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अनिच्छाका कारण उनलाई मोर्चामा सहभागी नगराएको स्रोतले बतायो । मोर्चा बीचमा केही गरी संकटमा परे नेत्रविक्रम चन्द विप्लवलाई माओवादीको महासचिव बनाउन सजिलो हुने ठानेर रणनीतिक हिसाबले नै प्रचण्डले बाबुरामलाई नसमेटेको बताइन्छ ।
यदि बाबुरामले सदासयता नदेखाएको भए मंसिरको निर्वाचनमा प्रचण्डको चुनाव क्षेत्र नै हुँदैनथ्यो । बाबुरामले गोरखा २ छाडिदिएकाले प्रचण्डले चुनाव जितेका हुन् । चितवन ३ बाट उठ्ने तयारी गर्दैगर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्डविरुद्ध उम्मेदवारी दिने भनेपटि उनी गोरखा २ पुगेका हुन् ।
गोरखा २ कांग्रेसको बलियो गढ भएको निर्वाचन क्षेत्र हो । बाबुरामले विगतमा पनि कांग्रेसकै सहयोगमा चुनाव जितेका थिए । यसपटक प्रचण्डले कांग्रेस र बाबुरामको सहयोगमा चुनाव जितेका हुन् ।
तर चुनाव जितेको ६ महिनामै प्रचण्डले आफ्नो असली चेहरा देखाएका छन् । उनले उपेन्द्रको कुरा सुनेर बाबुरामविरुद्ध त घात गरेकै छन्, सहयात्री दल कांग्रेसँग पनि बार्गेनिङ गर्न मोर्चा गठन गरेका छन् ।
जसलाई लिएर अहिले सत्तारुढ दलमै खटपट सुरु भएको छ । प्रचण्डको समाजवादी मोर्चा गठन गर्ने निर्णयले कांग्रेस र एमालेलाई नजिक्याउँदै लगेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
स्रोतका अनुसार प्रचण्डले पाउने तीन वर्षे प्रधानमन्त्री कार्यकालको पछिल्लो एक वर्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने, त्यसपछि माओवादी र एकीकृत समाजवादीबीच एकता हुने र प्रचण्डलाई पार्टी अध्यक्ष बनाएर विप्लवलाई मोर्चाको महासचिव बनाउने गरी भित्री रणनीति अख्तियार गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।