काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले चुनावअघि जनतासँग भोट माग्ने बेला धरानवासीलाई पानी खुवाउने सपना बाँडेका थिए ।
चुनाव जितेको यो एक वर्षमा टाढाटाढाका खोलाबाट पाइपमा धरानसम्म पानी ल्याउने काममा उनी अहोरात्र खटिएका छन् । जनश्रमदान गरेरै उनी धरानवासीलाई देखाएको सपना पूरा गर्ने दिशामा सफलतान्मुख भएका छन् ।
श्रमदानबाट पानी ल्याएका स्रोतहरू सुकेपछि कोसीको पानी नल्याई धरानको खानेपानी समस्या हल हुँदैन भन्ने हर्कराजले कोकाहा खोलाको पानी धरान झारेका छन् ।
धरानमा पानी नलिई फर्किन्नँ भने हर्क शुक्रबार श्रम अभियान चल्दै गरेको कोकाहा खानेपानी परियोजनातिर हानिएका थिए । शुक्रबारको कार्यालय सकेर हिँडेका उनी शनिबार, आइतबार र सोमबार श्रम अभियानमै खटिए ।
जहाँ दिन सकिन्छ त्यही बसे । मंगलबार राति १२ बजेर ३ मिनेटमा त्यही श्रम अभियानअन्तर्गतको कोकाहाको पानी धरानको पकुवा खोलामा आइपुग्यो । करिब ४३ किलोमिटर पाइपको दूरी पार गरेर पकुवामा कोकाहाको पानी खसाइएको थियो ।
पाइपको हावा चेक गर्दै आएको टोलीले पकुवामा पानी खसालेको थियो । पकुवामा खानेपानी आइपुगेपछि राति नै हर्क त्यहीँ पुगे । कोकाहाको पानी पकुवा खोलामा खस्न थालेपछि भावविह्वल भए हर्क ।
एक्कासि उनका आँखा रसाए । त्यत्तिकैमा पाइपबाट खस्दै गरेको पानीले मुख धोए । टाउकोमा पानी थापी रहे । राजनीतिक दल, दलका नेताहरू एवं मेयर साम्पाङका आलोचकहरूले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाटै कोकाहाको पानी ल्याउन सफल भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।