काठमाडौं - एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला २०७७ पुसमा दुईवर्षे कार्यकालका लागि उदयपुर सिमेन्टको महाप्रबन्धक नियुक्त भएका गोपीकृष्ण न्यौपानेले राजीनामा दिएका छन् ।
उनले बुधबार दिउँसो उद्यागमन्त्री रमेश रिजालसमक्ष राजीनामा बुझाएर हिँडेका हुन् । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट न्यौपानेको कार्यकालभरि विभिन्न विवादका कारण थोरै समय मात्रै खुल्ने र अधिकांश समय बन्द रहने गरेको थियो ।
जसकारण उद्योगको आर्थिक अवस्था कमजोर बन्न पुगेको थियो । दैनिक आठ सय टन सिमेन्ट उत्पादन क्षमता भएको उद्योगले यो वर्ष कहिले पनि क्षमताअनुसार सिमेन्ट उत्पादन गरेको छैन ।
गत वर्ष वैशाखदेखि उद्योग नियमितजस्तो बन्द हुने गरेको थियो । उद्योग बन्द हुँदा दायित्व बढ्ने, तर आम्दानी घट्ने हुँदा चरम नोक्सानीमा धकेलिएको छ ।
उद्योगमा कार्यरत चारवटै ट्रेड युनियनले सार्वजनिक गरेको तथ्यांकअनुसार न्यौपानेको कार्यकालमा उद्योगलाई एक अर्ब नौ करोड १९ लाख ७७ हजार आठ सय ३६ रुपैयाँ दायित्व सिर्जना भएको छ ।
दुई वर्षमा अवकाशप्राप्त ५० भन्दा बढी कर्मचारी उपदानबापतको १४ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । विद्युत् महसुलबापतको बक्यौता ३६ करोड रुपैयाँ तिर्न नसक्दा प्राधिकरणले बिजुली कटौती गरेको थियो । सरकारलाई बुझाउनुपर्ने भ्याट र अन्य कर समयमा तिर्न नसक्दा बढेर ५१ करोड ५९ लाख रुपैयाँ नाघेको छ ।
कर्मचारीको नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोषलगायतमा दाखिला गरिदिनुपर्ने रकम साढे चार करोड रुपैयाँ नाघिसकेको टे«ड युनियनले जनाएका छन् ।
व्यवस्थापकीय कमजोरीका कारण एक वर्षयता अधिकांश समय बन्द सिमेन्ट उद्योग बन्द रहँदै आएको थियो । एक अर्ब नोक्सानी भइसक्दा पनि उनले फेरि सरकारसँग ४० करोड रुपैयाँ मागेका थिए ।
उनले सरकारले पैसा नदिने भए आफूले उद्योग चलाउन नसक्ने भनेका थिए । तर, उद्योगमन्त्री रिजालले ठाडै अस्वीकार गरिदिए । मन्त्री रिजालले महाप्रबन्धकको राजीनामा स्वीकृत गरी तत्कालै मन्त्रालयबाट योग्य कर्मचारी तोकेर कामकाजका लागि खटाउने बताएका छन् ।
सरकारले दिएको पैसा न्यौपानेले आफूखुसी खर्च गर्ने गरेको पाइएको छ । राज्यलाई एक अर्ब चुना लगाउने न्यौपानेलाई कारबाही गर्नुपर्ने माग उठेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।