काठमाडौं - नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न पदका उम्मेदवारहरूको सूची प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन् । उनले आफ्नो नामसँग जोडेर सार्वजनिक तथा प्रचार गरिएका कुनै पनि सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयनका लागि मतदान प्रक्रिया सुरु भएको सन्दर्भमा थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले आफ्नो नाम प्रयोग गरेर विभिन्न उम्मेदवारलाई समर्थन गरेको भन्दै प्रचार गरिएका सूचीबाट भ्रममा नपर्न प्रतिनिधिहरूलाई सचेत गराएका छन् ।
थापाले पार्टीको आन्तरिक निर्वाचनलाई स्वस्थ लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने उल्लेख गर्दै यसपटक कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन् । उनले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो स्वतन्त्र विवेक प्रयोग गरेर योग्य उम्मेदवार छनोट गर्न आग्रह गरेका छन् । ‘यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो । यसपटक कुनै पनि प्यानल वा गुट छैन’, थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले मतदान प्रक्रिया एक दिन ढिलो सुरु हुँदा महाधिवेशन प्रतिनिधिहरूले भोग्नुपरेको असुविधाप्रति क्षमासमेत मागेका छन् । निर्वाचन प्रक्रियामा देखिएका असहजताबीच प्रतिनिधिहरूले आफ्नो विवेक र मूल्याङ्कनका आधारमा निर्णय लिनुपर्ने उनको भनाइ छ ।
थापाले कुनै पनि प्रकारका अफवाहमा नलाग्न र कसैले प्रचार गरेका सूचीका आधारमा आफ्नो मत निर्धारण नगर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । उम्मेदवारको योग्यता, क्षमता, पार्टीप्रतिको योगदान तथा आफ्नो विश्वासलाई आधार बनाएर मतदान गर्नुपर्ने उनको सन्देश छ ।
उनले पार्टीको सर्वोपरि हितलाई केन्द्रमा राखेर महाधिवेशन प्रतिनिधिहरूले गर्ने विवेकपूर्ण निर्णयले नेपाली कांग्रेसलाई थप सुदृढ बनाउँदै संगठनलाई नयाँ उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् ।
गगन थापाको नाम जोडेर उम्मेदवारहरूको सूची वितरण भइरहेको चर्चाका बीच उनको यो भनाइ आएको हो । यसअघि कांग्रेस नेता विश्वप्रकाश शर्माले पनि आफू र थापाको नाम जोडेर वितरण गरिएका प्यानलगत सूची भ्रामक रहेको बताएका थिए । शर्माले सबै उम्मेदवार समान रहेको उल्लेख गर्दै आफूहरूले कुनै प्यानल नबनाएको स्पष्ट पारेका थिए ।
थापा र शर्माको अभिव्यक्तिले महाधिवेशनमा उम्मेदवार छनोट गर्दा अनधिकृत सूची तथा प्रचारमा भर नपरी प्रतिनिधिहरूले स्वतन्त्र रूपमा निर्णय लिनुपर्ने सन्देश दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।