काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिन भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा छन् ।
बुधबार भ्रमणमा गएका प्रचण्डले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् ।
उनले भारतीय राष्ट्रपति द्रोपदी मुमू र उपराष्ट्रपतिसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।
विपक्षी दलका नेताहरूसँग भेटवार्ता तय नभएकाले प्रचण्ड आज र भोलि घुमफिरमा लागेका छन् । उनी आज मध्यप्रदेशको इन्दोर जाँदैछन् ।
प्रचण्डको भारत भ्रमणमा खासै धेरै प्रगति नभए पनि छोरी गंगा दाहाल हाबी भएको विषयले नयाँ दिल्लीमा तरंग सिर्जना गरेको छ ।
हरेक उच्चस्तरीय भेटवार्तामा छोरीलाई अघिसारेपछि प्रचण्डसँग भ्रमणमा गएका अन्य मन्त्री, मुख्यसचिव र सचिव असन्तुष्ट बनेका छन् ।
सोही कारण दिल्ली भ्रमणका सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको व्यावसायिकता र संस्थागत क्षमता प्रदर्शन हुन सकेन। गंगा प्रचण्डको स्वकीय सचिव मात्र हुन् ।
उनले देशको प्रतिनिधित्व गर्ने कुरा भएन । जसले गर्नुपर्ने हो, उसले नगरेपछि दिल्लीमा धेरै कुरामा चुक भएको बताइन्छ ।
यही कारण ६ महिनादेखि भारत भ्रमणमा जाने बताउँदै आए पनि त्यसको तयारीमा राजनीतिक र कूटनीतिक क्षेत्रले तयारी नगरेको अनुभव भएको छ।
प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रा होटल मौर्यमा आएर भेटेका थिए।प्रधानमन्त्रीसँग नेपालका तर्फबाट भने उनकी छोरी गंगा दाहाल मात्र देखिन्थिन्।
क्वात्रा कुराकानी नोट गरेर बसेका छन् भने नेपालका तर्फबाट यस्तो विषयमा छलफल हुँदा संस्थागत रूपमा स्मृतिमा राख्ने परराष्ट्र सचिवको उपस्थिति देखिएन।
यस्ता भ्रमणमा परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र अन्य कूटनीतिक कर्मचारीको भूमिका देखिन्छ। तर मुख्यसचिव शंकरदास बैरागी र परराष्ट्र सचिव भरतराज पौडेल गंगा दाहाल हाबी भएपछि रिसाएको बताइन्छ ।
प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री वा सचिव वा अन्य कूटनीतिक कर्मचारीलाई यस्ता बैठकमा सरिक नगराउनुको अर्थ के हो ? यसले नेपालको राजनीतिक र कूटनीतिक क्षमता पूर्ण रूपमा कमजोर रहेको देखाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।