काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले रेशमलाल चौधरीलाई जेलबाट छुटाउन अनेक प्रपञ्च गरिरहेका छन् ।
सर्वोच्च अदालतले जन्मकैद भोगिरहेका चौधरीलाई निकाल्न नसक्ने फैसला गरिसक्दा पनि प्रचण्ड भने देशको संविधान र कानुनलाई चुनौती दिँदै उनलाई बाहिर निकाल्न खोज्दैछन् ।
त्यसका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो अन्तिम हतियार बनाउँदैछन् । प्रचण्डले चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिएर छुटाउन खोजेका छन् । त्यसका लागि आममाफीको निर्णय राष्ट्रपति कार्यालयमा पठाएका छन् ।
सरकारले पठाएको पत्र अहिले राष्ट्रपति पौडेलले अध्ययन गर्दैछन् । गणतन्त्र दिवसको दिन पारेर चौधरीलाई रिहाइ गर्न लागिएको छ । जसको अहिले चौतर्फी विरोध भइरहेको छ ।
प्रचण्डले राष्ट्रपति पौडेलको काँधमा रेशम चौधरी नामको राजनीतिक बम पड्काउन खोजेको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् ।
हत्या अभियुक्त प्रमाणित भई कारागारमा रहेका चौधरीलाई आममाफी दिएर छुटाउँदा राष्ट्रपतिले ऐन कानुन मिचेको ठहरिने कानुन व्यवसायीको तर्क छ ।
जसले राष्ट्रपतिमाथि अदालतको अवहेलना गरेको ठहर हुने बताइन्छ । कानुनविद् टीकाराम भट्टराईले हाल डिल्लीबजार कारागारमा रहेका पूर्वसांसद चौधरीलाई आममाफी दिने निर्णय गरे राष्ट्रपतिले संविधान र कानुन मिचेको ठहरिने बताएका छन् ।
‘टीकापुर घटनामा राजनीतिक मुद्दा होला, रेशम चौधरीलाई अन्याय भएको होला । फौजदारी कार्यविधि संहिताको दफा १५९ मा कस्तो कस्तोलाई आममाफी दिन सकिन्छ भन्ने स्पष्ट छ ।
तर सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नहेरीकन प्रतिलिपि नआईकन आममाफी दिन मिल्दैन । अझ जिल्ला र उच्च अदालतबाट क्रूर र अमानवीय ढंगले नियन्त्रणमा लिएर हत्या गरेको भनी फैसला गरेको व्यक्तिलाई आममाफी दिन कसरी मिल्छ ? त्यसो गरेमा राष्ट्रपतिले संविधान र कानुन मिचेको ठहरिने छ ।
यस्तो स्थितिमा राष्ट्रपतिले कसरी रातो मसी चोब्न मिल्छ ?’ भट्टराईले शुक्रबार एउटा रेडियोमा अन्तर्वार्ताका क्रममा भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।