काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे संघीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ। पार्टीले चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका श्रेष्ठलाई गरिएको कारबाहीबारे अध्ययन गर्ने भएको हो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार संघीय सचिवालयले रास्वपाले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर अध्ययन गर्न लागेको जनाइएको छ। सचिवालयले आइतबारदेखि अध्ययन गरेर सो बारेको यथार्थ सभामुख देवराज घिमिरेलाई जानकारी गराउने भएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४, ३५ र ३६ मा संसद् सदस्यले दल त्याग गरेमा वा निष्कासन गरेमा त्यसको सूचना संसद्मा दिनुपर्ने र सो सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले प्रतिनिधिसभाको बैठकमा वाचन गरेर जानकारी गराउनुपर्ने व्यवस्था छ।
संसद् नचलेको बेला सभामुखले सूचना पार्टीमा सूचना टाँस गरेर जानकारी गराउनुपर्नेछ। आगामी वैशाख १४ गतेभित्र उनीमाथि गरिएको कारबाही प्रक्रियागत रूपमा ठिक भए सभामुखले स्थान रिक्तताको जानकारी गराउने संघीय सचिवालयले जनाएको छ।
सभामुखले सदनमा स्थान रिक्तताको जानकारी गराएपछि निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका कुनै एक उम्मेदवारलाई प्राथमिकता क्रम अनुसार छनोट भएका व्यक्तिलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने बताइएको छ। रास्वपाले भने समानुपातिक सूचीमा रहेका विन्दवासिनी कंसाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो।
श्रेष्ठले आफूलाई गरेको कारबाहीबारे अदालत जाने चेतावनी दिइसकेका छन् । अझ संसद् सचिवालयले श्रेष्ठको मुद्दा हेर्ने भनेपछि रवि लामिछाने तनावमा परेका छन् । सोही कारण लामिछानेले शनिबार श्रेष्ठलाई आफ्नो अभियानमा सघाउन आग्रह गर्दै पुराना र मूलधारका दलले आफ्नो नेताका भ्रष्टाचारसम्बन्धी अडिओ भिडिओ सार्वजनिक गरे पनि संरक्षण गर्ने, तर आफूहरू भ्रष्टाचारमा शून्य सहनशील भएको दाबी गर्ने उनै रविले आफूविरुद्ध मुद्दामामिलामा नजान आग्रह गर्नु विरोधाभासपूर्ण छ।
आफूलाई सहयोग नगरे महापाप हुने वक्तव्य दिनुले उनी निकै तनावमा छन् भन्ने संकेत गरेको छ। उनले पछि अदालतबाट मुद्दा जितेर आए फेरि पार्टीमा स्थान हुने भन्दै थामथुम पार्न खोजेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।