काठमाडौं- २०७९ सालमा देशमा तीन तहको निर्वाचन भयो । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन भयो । सात सय ५३ वटै स्थानीय तहले सरकार पायो । सातै प्रदेशमा नयाँ सरकार गठन भए ।
देशमा जतिसुकै ठूला परिवर्तन भए पनि शासकको मति र गति परिवर्तन हुन सकेको छैन । जसले नागरिकमा ठूलो वितृष्णा पैदा गराएको छ । राजनीतिप्रति मोहभंग हुँदै गएको छ । युवामा पुराना दल र नेताप्रतिको विश्वास तीव्र ढंगले ओरालो लागिरहेको छ । यदि यस्ता विषयमा ध्यान दिन नसक्ने हो भने २०८० सालभरि नेपाली जनताले पहिलेको जस्तै समस्या भोग्नुपर्ने अवस्था छ ।
राज्यले जसरी जनतालाई डेलिभरी दिनुपर्ने हो त्यसबाट चुक हुँदै गएको छ । आयात बढ्दो क्रममा छ । निर्यात ठप्प जस्तो छ । व्यापार घाटा तीव्र रूपमा बढ्दा राजश्व संकलनमा कमी आइरहेको छ । यसले अहिले कर्मचारीलाई समेत ऋण गरेर तलब खुवाउने अवस्था आउनु भनेको सामान्य होइन ।
यदि वार्षिक १२ खर्ब रेमिट्यान्स नभित्रिने हो भने नेपालको अवस्था श्रीलंक र पाकिस्तानको भन्दा भिन्न हुन्नथ्यो । सबैभन्दा ठूलो समस्या पुँजी बजार ओरालो लाग्नु नै देखिएको छ । एक वर्षको समयमा नेपालीले १० खर्ब रुपैयाँ सेयर बजारबाट गुमाएका छन् । अब सरकार र राजनीतिक दलले यस्ता समस्याको पहिचान गरी नयाँ नीति बनाउनु पर्छ । नयाँ वर्षमा नयाँ संकल्पका साथ अघि बढेमा मात्र नागरिकका चाहना र इच्छा पूरा हुन सक्छन् । त्यसैले जनताको मानसिकता बुझ्न सरकारमा रहेका दल र नेताले ढिलाइ गर्नु हुन्न । जति ढिला भयो, त्यति विश्वासको संकट देखिने भएकाले सबैले सजग हुनु जरुरी छ ।
तीन वर्षदेखिको विश्वव्यापी कोभिड महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । त्यसको प्रभाव नेपालमा पनि गहिरोसँग परेको देखियो । अझ रुस–युक्रेनबीच गर्त वर्ष फागुनबाट सुरु भएको युद्धले संसार नै प्रभावित बन्यो । कोभिड महामारीसँग जुधिरहेका बेला रुस–युक्रेन युद्धले विश्वमै आर्थिक मन्दीको चपेटामा पर्न पुगेको छ ।
त्यसको प्रभाव नेपाली जनताले पनि भोग्नुपरेको छ । देशमा तीनै तहको सरकार गठन भए पनि नागरिकको दुःख र कष्ट भने ज्यूँका त्यूँ छन् । ब्रेन ड्रेनको समस्या उच्च क्रममा छन् । दैनिक २५ सय वैदेशिक रोजगारीमा जाने र उच्च अध्ययनका क्रममा एक हजार दक्ष जनशक्ति विदेश भासिरहेको छ । उनीहरूसँगै राज्यको पुँजी पनि बाहिरिने क्रम जारी रहेकाले देशले संकटको सामना गर्नुपरिरहेको छ । तर अहिलेसम्म कुनै पनि दल गम्भीर बनेको देखिन्न ।
यदि नेपाली कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा जस्ता ठूलो दल सच्चिएनन् भने राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, जनमत पार्टीले ठूला दलमा पहिरो ल्याउने निश्चित छ । अर्थतन्त्रमा देखिएको ठूलो समस्याले अहिले नागरिकलाई त्रस्त बनाएको छ । त्यसैले सरकारमा रहेकाले सच्चिनु जरुरी भइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।