काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघमा भावी अध्यक्ष चयनका लागि निर्वाचन सुरु भएको छ ।
बुधबार बिहान ८ बजेदेखि कमलादीको प्रज्ञा प्रतिष्ठानमा मतदान सुरु भएको हो । देशभरका लाखौँ उद्योगी व्यवसायी सदस्य रहेको महासंघको साधारणसभा मंगलबार उदघाटन भएको थियो । आजदेखि महासंघको अध्यक्षमा शेखर गोल्छाको बहिर्गमन र चन्द्र ढकालको आगमन हुँदैछ ।
महासंघको वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष स्वतः हुने प्रावधान भएकाले यसपटकको निर्वाचनमा धेरैको ध्यान थएको छ । तीन वर्षपछिका लागि महासंघको २१औँ अध्यक्ष बन्न लक्ष्मी समूहका निर्देशक अञ्जन श्रेष्ठ, क्वेस्ट फर्मासिटिकल्सका सञ्चालक उमेशलाल श्रेष्ठ र त्रिवेणी समूहका निर्देशक रामचन्द्र संघई वरिष्ठ उपाध्यक्षको चुनावी दौडमा छन् ।
तीन उम्मेदवारमध्ये जसले ५१ प्रतिशत मत ल्याउँछ, उसैले महासंघको नेतृत्व आगामी तीन वर्षसम्म सम्हाल्नेछ । यसपटक तीनजना चुनावी मैदानमा उत्रिएकाले कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्ने आँकलन गरिएको छ । वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुन उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ ।
निर्वाचनको मत गणना आजै साँझ ७ बजेदेखि सुरु हुनेछ । यो मतगणनाबाट कुनै पनि उम्मेद्वारले ५१ प्रतिशतले मत नल्याएमा बिहीबार दोस्रो चरणको मतदान सुरु हुनेछ ।
उक्त मतदानमा तेस्रो हुने उम्मेद्वारले पहिलो वा दोस्रो हुनेलाई समर्थन गरेपछि भने परिमाण आउनेछ । दोस्रो चरणको मतदान ३० गते ११ बजेदेखि ६ बजेसम्म प्रज्ञा प्रतिष्ठानमै हुनेछ ।
अध्यक्ष नै कार्यकारी रहने महासंघको कार्यसमितिमा एकजना वरिष्ठ उपाध्यक्षसँगै तीनजना उपाध्यक्ष हुने व्यवस्था छ । यसअनुसार, महासंघमा जिल्लानगर, वस्तुगत र एसोसिएटमा एक–एक जना उपाध्यक्ष हुन्छन् । तीन उपाध्यक्ष पदका लागि आठजना मैदानमा छन् । जिल्ला नगरतर्फको उपाध्यक्ष पदमा अरुण सुमार्गी, दिनेश श्रेष्ठ, शुरकृष्ण वैद्य छन् ।
वस्तुगततर्फको उपाध्यक्षमा मनिषलाल प्रधान, हेमराज ढकाल र शकुन्तला हिराचन छन् । एसोसिएटतर्फको उपाध्यक्ष पदमा भरत आचार्य र ज्योत्सना श्रेष्ठ भिडन्तमा छन् । महासंघको निर्वाचन समितिका अनुसार कूल १९ सय ९३ जना मतदाता छन् ।
यी मतदाताले आफ्ना भावी अध्यक्ष र कार्यसमिति चयन गर्नेछन् । निर्वाचन समितिका अनुसार एसोसिएटतर्फका मतदाता संस्था १७ सय ४८ जना छन् । यस्तै, वस्तुगततर्फका मतदाता संस्था १२३ छन् भने जिल्लानगरतर्फका मतदाता संस्था ११७ जना छन् । द्विराष्ट्रियतर्फ पाँचवटा मतदाता संस्था छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।