काठमाडौं - चर्चित अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेसँगै अहिले सामाजिक सञ्जाल र मिडियामा उनले पार्टी छाड्नुको कारण खोज्न थालिएको छ ।
बिहीबार दिउँसो कांग्रेस छाडेका वाग्लेले राति नै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यता लिन पुगे । रवि जस्तो सस्तो लोकप्रियताका हुने नहुने जे पनि गर्नेको नेतृत्व स्वीकार्न पुगेसँगै अहिले उनको आलोचना भइरहेको छ ।
कांग्रेसमा अवसरका लागि ठाउँ र समय हुँदाहुँदै वाग्लेले पार्टी छाड्नुको कारण भने फरकफरक रहेको बाहिर आउन थालेका छन् । वाग्लेलाई कांग्रेस सभापति शेरबहादुर देउवाले नै राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष बनाएर एकाएक चर्चामा ल्याइदिएका थिए ।
वाग्लेकै कारण कांग्रेसले लोकप्रियता हासिल गरेको भने होइन । कांग्रेसको चुनावी घोषणापत्र लेखन समितिको सदस्य पनि देउवाले नै दिएका थिए ।
तर अहिले वाग्लेले उनै देउवाको मानमर्दन हुने गरी स्टाटस लेखेर पछि पार्टी फर्कने ठाउँसमेत राखेनन् । खासमा कांग्रेसमा डा.विश्व पौडेललाई आरजु राणा देउवाले च्यापेकोमा उनी असन्तुष्ट थिए । वाग्ले चितवन १ बाट उम्मेदवार बन्न चाहन्थे ।
तयारी पनि गरेका थिए । तर आरजुकै जोडबलमा विश्व पौडेलले टिकट पाएदेखि नै वाग्ले असन्तुष्ट बन्दै आएका थिए । कांग्रेस महामन्त्री गगन थापाले समय वाग्लेलाई काठमाडौं ४ बाट उम्मेदवार बनाउन चाहेका थिए ।
तर वाग्लेकै कारण सम्भव भएन । चुनावपछि पनि वाग्ले कांग्रेस महामन्त्री थापा र नेता शेखर कोइरालासँग धेरै जिल्लामा अन्तरक्रिया गरेर हिँडे । अवसर दिन चाहेका थिए ।
तर अहिले तनहुँ २ मा उम्मेदवार बन्नकै लागि उनले रवि लामिछानेको दौराको फेर समाउन पुगेकाले उनको लोकप्रियता स्वाठै घटेको छ । वाग्ले राष्ट्रपति रामचन्द्र पौडेलको वैदेशिक र आर्थिक सल्लाहकार बन्न चाहन्थे ।
त्यसका लागि उनले पौडेलसँग लबिइङ गरिरहेका थिए । पछिल्लो दुई साता उनले शीतल निवासमा व्यापक दबाब बढाएका थिए ।
तर कांग्रेस सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले थाहा पाएपछि तुरुन्तै परराष्ट्र सल्लाहकारमा डा.सुरेशचन्द्र चालिसे र आर्थिक सल्लाहकारमा डा.चिरञ्जीवी नेपाल नियुक्त भएपछि वाग्लेले एकाएक कांग्रेस छाड्ने निर्णय गरेको उनी निकट नेताहरू बताउँछन् ।
अब उनले तनहुँ २ मा गएर कांग्रेसलाई गाली गरेर भोट माग्छन् कि नेताहरूलाई गाली गरेर भोट माग्छन् दुई चार दिनमै थाहा हुन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।