काठमाडौं - जसपा सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त बारा २ मा गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्ने र संसद् प्रवेश गर्ने जसपा अध्यक्ष उपेन्द्र यादवको तयारी छ ।
तर, मंसिर ४ गतेको निर्वाचनमा यादवलाई सप्तरी २ मा हराएका सिके राउत बारा २ मा पनि यादवका लागि बाधक बन्ने रणनीतिमा छन् ।
मधेसमा यादव–राउत भनौँ या जसपा–जनमत पार्टी, एक–अर्काको बलियो प्रतिस्पर्धी र विरोधीका रूपमा देखिएका छन् । राउतले बारा २ मा जनमत पार्टीले उम्मेदवारी दिने घोषणा गरेर यादवसँग राजनीतिक टकराव लिने मनस्थिति तयार पारेका छन् । सोही कारण उपेन्द्र केही दिनयता बारा २ मा उठ्न डराइरहेका छन् ।
उपेन्द्रले बारा २ बाट उम्मेदवारी नदिने संकेत गरेपछि उनलाई मनाउन मधेस प्रदेशका मुख्यमन्त्री सरोज यदव काठमाडौं आउन लागेका छन् । सरोज पनि बाराकै हुन् ।
उनी सकेसम्म उपेन्द्रलाई उठाउन लागिपरेका छन् । यदि उपेन्द्र नउठ्ने भएमा रामकिशोर यादव र रामबाबु यादवले रिक्त पदमा दावेदारी गर्ने भएका छन् ।
रामबाबु मंसिर ४ गतेको निर्वाचनमा जसपाका उम्मेदवारविरुद्ध बागी दिएका थिए । उनले ११ हजार मत ल्याएका थिए । अहिले उनी जसपामै छन् ।
यादव र राउत संघ र प्रदेशमा एउटै समीकरणमा छन् । तर, यादवको संसद् प्रवेशमा दोस्रोपटक पनि बाधक बन्ने राउतको रणनीति छ भने मंसिर ४ को हारको बदला लिन यादवको मोर्चाबन्दी छ ।
लोसपाले पनि उम्मेदवारी दिने निर्णय गरेर यादवका लागि चिन्ता थपिदिएको छ । यसले बारा २ को उपनिर्वाचनलाई रोचक मात्रै होइन, पेचिलो पनि बनाउने देखिएको छ ।
सप्तरी २ मा आफैँले यादवलाई हराएका राउत बारा २ को उपनिर्वाचनमा स्थानीय उम्मेदवारमार्फत यादवविरुद्ध मैदानमा उत्रँदै छन् । सोही कारण केही दिनअघि उनी बारा पुगेर उपेन्द्रलाई फिरंगीको संज्ञा दिँदै हराएर पठाउन आह्वान गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।