शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

ओलीका दुईमध्ये एउटा विश्वासपात्रलाई काखी च्याप्दै प्रचण्ड

ओलीका दुईमध्ये एउटा विश्वासपात्रलाई काखी च्याप्दै प्रचण्ड

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 9.7K
    SHARES

  • ओलीका दुईमध्ये एउटा विश्वासपात्रलाई काखी च्याप्दै प्रचण्ड

    काठमाडौं- यतिबेला प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना छन् । दुवै एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र हुन् । घिमिरे झापाका र तिमिल्सिना पर्वतका हुन् । सभामुख र राष्ट्रिय सभाका अध्यक्ष दुवै संवैधानिक परिषद्का पदेन सदस्य हुन् । संवैधानिक परिषदमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा छन् । 

    नेपाली कांग्रेसको त प्रतिनिधित्व शून्य नै छ । यदि संसद्ले कांग्रेस सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियत दिएमा संवैधानिक परिषदमा कांग्रेसको एक सदस्य हुन्छन् । तर सत्ता राजनीतिमा धेरै फेरबदल भएकाले कांग्रेस सरकारमा सहभागी हुने दिन नजिकिँदै छ । यदि कांग्रेस सरकारमा गएमा फेरि एमाले अध्यक्ष केपी ओली नै विपक्षी दलको नेता बन्ने निश्चित छ । त्यही भएर अहिले प्रधानमन्त्री प्रचण्ड संवैधानिक परिषदमा बलियो बन्ने अभियानमा लागेका छन् । यसका लागि उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने तयारी गरेका छन् । प्रचण्डले रविसँग संवाद बढाएका छन् । रवि पनि राहदानी प्रकरण अघि नबढोस् भनेर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँग नजिकिरहेका छन् । 

    प्रतिनिधिसभाको उपसभामुख इन्दिरा राना रास्वपाबाट निर्वाचित भएकी हुन् । यदि रास्वपा सरकारमा सहभागी भएमा उपसभामुख राना पनि सत्तारुढ दलकै हुने छिन् । जसकारण संवैधानिक परिषदमा ओलीको एउटा कार्ड प्रचण्डको हुनेछ । 

    यससँगै सभामुख र राष्ट्रिय सभा अध्यक्षबीचको किचलोमा प्रचण्डले सभामुख देवराज घिमिरेलाई साथ दिने तयारी गरेका छन् । सरकारी निवासका कारण घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच सम्बन्ध बिग्रेको छ । सभामुखको सरकारी निवासमा तिमिल्सना बसेका छन् । सभामुख घिमिरेले आफ्नो सरकारी निवास मिलाइदिन ताकेता गरेपछि सरकारले सभामुखको निवासबाट राष्ट्रिय सभा अध्यक्षलाई अन्यत्र सार्ने तयारी गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सभामुख देवराज घिमिरेको निवास व्यवस्थापनका लागि बालुवाटारस्थित सभामुखको सरकारी निवास खाली गराउने निर्णय गरेको हो । 

    हाल सभामुखको निवासमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना बसिरहेका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली भएको निवासमा हतारहतारमा तिमिल्सिना सरेका थिए । तिमिल्सिना बसेको (मुख्यसचिव) निवास तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रयोग गरेका थिए ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालुवाटारस्थित सरकारी निवास सभामुख घिमिरेलाई उपलब्ध गराउने छलफल मन्त्रिपरिषद्मा भएको बताइन् । ‘सभामुखको जुन निवास हो, त्यहाँ अध्यक्ष बसिराख्नुभएको छ । त्यो सभामुखकै निवास हुने र अध्यक्षलाई पहिले बसेकै ठाउँमा मिलाउने भन्ने भएको छ,’ उनले भनिन्, ‘बालुवाटारको निवास उपलब्ध गराउने जानकारी सभामुखलाई दिइएको छ ।’

    सभामुख निवासमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना सरेपछि महरापछि सभामुख भएका अग्नि सापकोटालाई लैनचौरस्थित एक सरकारी निवासमा सारिएको थियो । नवनिर्वाचित सभामुख घिमिरेले सुविधासम्पन्न भवन नरहेको भन्दै लैनचौर जान मानेका छैनन् । राष्ट्रिय सभा अध्यक्षलाई लैनचौर निवासमै पठाउने सरकारको योजना छ । निवास काण्डले घिमिरे र तिमिल्सिनाबीच फाटो आउने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ९ २०७७०४:३३:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend