आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राप्रपाका नेता र मन्त्रीबाट लगातार प्रहार भइरहे पनि प्रचण्डको ‘अर्थपूर्ण’ मौनता

राप्रपाका नेता र मन्त्रीबाट लगातार प्रहार भइरहे पनि प्रचण्डको ‘अर्थपूर्ण’ मौनता

  • मिडिया डबली
  • शुक्रवार, माघ २० २०७९

  • 2.3K
    SHARES

  • राप्रपाका नेता र मन्त्रीबाट लगातार प्रहार भइरहे पनि प्रचण्डको ‘अर्थपूर्ण’ मौनता

    काठमाडौं- केही समयअघि कानुनमन्त्री ध्रुबहादुर प्रधानले एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै राप्रपा हिन्दु राष्ट्रको अभियानमा लागेको र संघीयता अझै नस्वीकारेको मात्र भनेनन्, संघीयता खारेजमा आफूहरू लागेको बताए । मन्त्री प्रधानले बोलेको विषयलाई लिएर राष्ट्रिय सभामा सांसदहरूले कुरा उठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिने र कारबाही गर्नेसमेत चेतावनी दिए । तर अहिलेसम्म पनि प्रधानमन्त्रीले कारबाही त परको कुरा मन्त्री प्रधानलाई स्पष्टीकरण सोध्ने चेष्टासमेत गरेका छैनन् । 

    बरु प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका मन्त्रीलाई स्पष्टीकरण सोधे सरकारलाई दिएको समर्थन नै फिर्ता लिने भनेर राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उल्टै चेतावनी दिए । त्यसयता राप्रपाका नेताहरू प्रधानमन्त्रीमाथि खनिरहेका छन् । आफूले दिएको अभिव्यक्ति सच्याउन माग गरिरहेका छन् । 

    बुधबारको प्रतिनिधिसभा बैठकमा राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणाले आफ्नो पार्टी यही संविधान र संसदबाट राजतन्त्र ल्याउन खोजिरहेको छ भनेर अभिव्यक्ति दिएपछि त सत्तागठबन्धनमै भाँडभैलो भएको छ । संघीयता खारेज, गणतन्त्र खारेज गरी राजतन्त्र स्थापना गर्ने खुलेआम भन्दा पनि सत्तारुढ दल माओवादी केन्द्र र एमाले नेतृत्व मौन बस्नुले जनता रणभुल्लमा परेका छन् ।

    प्रतिनिधिसभा बैठकमा एमालेका रघुजी पन्त र माओवादीका शक्ति बस्नेतमाथि खनिँदै राप्रपा सांसद राणाले खुलमखुल्ला राजा ल्याउने भनेर उदघोष गरेका हुन् । प्रतिनिधिसभा बैठकमै राजा ल्याउने आवाज उठेपछि पनि सभामुख देवराज घिमिरेले संविधानको प्रस्तावनालाई नै चुनौती दिने गरी दिएको अभिव्यक्ति सच्याउन आग्रह गरेनन् । बरु उनी मौन बसे । अहिले संसद् बैठकमा राप्रपाका ज्ञानेन्द्र शाही र धवलशमशेरले तथा बाहिर मन्त्री ध्रुबहादुर प्रधान र विक्रम पाण्डेले संघीयता र धर्म निरपेक्षतालाई चुनौती दिँदै हिन्दु राष्ट्र र राजतन्त्रको वकालत गरिरहेका छन् । तैपनि प्रधानमन्त्री प्रचण्डले दुवै मन्त्रीलाई स्पष्टीकरण सोध्नबाट किन हच्केका हुन् भन्ने खुलेको छैन ।

    प्रतिनिधिसभा बैठकमा खुलमखुला राजतन्त्र पुनस्र्थापनाको कुरा उठ्नुमा कतै निर्मल निवासबाट राप्रपाका सांसदहरू परिचालित छैनन् भन्ने चासो सर्वत्र उठेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले केही समयअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भेटेपछि संघीयता र धर्मनिरपेक्षताको विरोधमा राप्रपाले सडक र सदन दुवै उपयोग गर्न थालेको विश्लेषण गर्न थालिएको छ ।

    राप्रपा सत्तागठबन्धनको एउटा मुख्य दल हो । हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा सात गरी राप्रपाले १४ सिट जितेको छ । राप्रपा हिन्दु राष्टङ पुनस्र्थापना र संवैधानिक राजतन्त्रको वकालत गर्दै चुनावमा गएको थियो । जनताले उसको नारालाई मन पराए र १४ सिट दिलाए ।

    तर सरकारमा सामेल भइसकेपछि सबैले संविधानअनुसार चल्नु पर्छ । अझ मन्त्रीमा रहेकाले संविधानको भावना र मर्मविरुद्ध बोल्नु हुँदैन । तर राप्रपाका नेताहरू मात्र होइन, मन्त्रीहरू पनि सरकारको साझा न्यूनतम कार्यक्रमको समेत बेवास्ता गर्दै भाषण गर्दै हिँडेका छन् । आफूमाथि दिनहुँ राप्रपाका मन्त्री र नेताले प्रहार गर्दा पनि प्रचण्ड मौन बस्नुलाई धेरै नै अर्थपूर्ण मानिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend