काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली र अमेरिकी राहदानी बोकेर हिँडेको पुष्टि भइसकेको छ ।
अमेरिकी राहदानी हुँदाहुँदै उनले नेपाली राहदानी बनाएको पनि खुलिसकेको छ । पछि बनाएको राहदानी उनले अध्यागमन विभागलाई बुझाएका छन् ।
एकै समयमा दुई देशको राहदानी बोकेर हिँड्नेलाई नेपालको कानुनले कीर्ते गरेको ठहर गर्छ । दोहोरो राहदानी बोकेको कसुरमा उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । अमेरिकी नागरिकता त्यागे पनि नयाँ नागरिकता नलिएपछि सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको छ ।
जसकारण उनी उपप्रधान तथा गृहमन्त्रीबाट मुक्त भएका थिए । तर, अहिले आफूमाथि अनुसन्धान हुँदै गर्दा लामिछाने पुनः मन्त्री बन्न जोडबल गरिरहेका छन् । त्यसका लागि मंगलबार बिहानै उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
उनले प्रधानमन्त्रीलाई भेटेर आफूलाई मन्त्री नियुक्त गर्न आग्रह गरेका छन् । यसअघि आइतबार पनि उनी आफूलाई मन्त्री नियुक्त गरिदिन भन्दै बालुवाटार पुगेका थिए । तर, प्रचण्डले ठोस जवाफ नदिई फर्काइदिएका थिए । हिजो टेलिभिजनमा पत्रकारिता गर्दा दुनियाँलाई प्रश्न गर्ने रवि आफैंले दुई देशको राहदानी बोकेर हिँडेका छन् ।
हिजो अमेरिकाको नागरिकता र पिआर छोड्ने बेला प्रेस पास बनाउनुस्, नागरिकता लिनुस् भनेर नेपाल प्रेस काउन्सिलका तत्कालीन कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले भन्दा रविले भनेका थिए– ‘बरु जुत्ता पालिस गर्छु, तर कुनै हालतमा लिन्न भनेका थिए ।’ अहिले दोहोरो राहदानीका कारण उनी विवादमा छन् ।
सोही कारण उनलाई यसपटक मन्त्री नबन्न चौतर्फी दबाब बढेको छ । उनकै परिवार र आफन्त तथा शुभेच्छुकले पनि रविलाई मन्त्री नबन्न सल्लाह दिएका छन् । तर, रविले मानेका छैनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि रविलाई मन्त्री बनाउनुपर्ने बटमलाइन बनाएको छ । तर उनीमाथिको अनुसन्धान नसकिएकाले प्रधानमन्त्री मानेका छैनन् । माओवादीमा पनि रविलाई मन्त्री नियुक्त गर्न नहुने आवाज दह्रो ढंगले उठेको छ ।
राप्रपा, जसपालगायतका दलले पनि रविलाई पुनः गृहमन्त्री बनाउन नहुने भन्दै प्रधानमन्त्रीलाई सुझाव दिइरहेका छन् । तर जसरी पनि आफू मन्त्री बन्ने ढिपी रविले नछाड्नुले पनि केही रहस्य पक्कै रहेको अनुमान गरिएको छ । गृहमन्त्री हुँदा गरेको सरुवा, बढुवामा व्यापक चलखेल भएको चर्चा थियो ।
एमाले अध्यक्ष केपी ओलीको सहमतिमा रविले गृहमा सरुवा बढुवा गरेको माओवादी नेताहरुको भनाइ छ । क्रसर उद्योग अचानक बन्द गर्न निर्देशन दिनु र फेरि तुरुन्त खोल्नुले पनि व्यापक आर्थिक चलखेल भएको हुन सक्ने धेरैको भनाइ छ ।
यी सबैका लागि पनि रविले मन्त्री बन्न जोडबल गरिरहेको बताइन्छ । यदि आफू गृहमन्त्री बन्न नसके पार्टीबाटै अरुलाई गृहमन्त्री बनाउन भन्दै रविले आज प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको स्रोतले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।