आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्रीलाई समेत छक्याउने मुख्यसचिव बैरागीको जागिर धरापमा

प्रधानमन्त्रीलाई समेत छक्याउने मुख्यसचिव बैरागीको जागिर धरापमा

  • मिडिया डबली
  • सोमवार, माघ १६ २०७९

  • 4.1K
    SHARES

  • प्रधानमन्त्रीलाई समेत छक्याउने मुख्यसचिव बैरागीको जागिर धरापमा

    काठमाडौं-कांग्रेस नेता डा. शेखर कोइरालाले आइतबार ट्विटरमा लेखे– ‘संविधानले नै ग्यारेन्टी गरेको ‘सूचनाको हक’ लोकतन्त्र, नागरिक सशक्तीकरण र सुशासनलाई सबल बनाउने महत्वपूर्ण हक हो ।

    सरकारले यो हक र यससम्बन्धी कानुनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहने गरी निर्णय गरेकामा खेद प्रकट गर्दछु ।’ लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्विटरमा लेखे– ‘सूचना वर्गीकरणसम्बन्धी समितिले गरेको निर्णयबारे विभिन्न निकायबाट व्यक्त चासोबारे नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। भोलि सोमबार सरोकारवाला पक्षहरूसँग छलफल गरी समस्या समाधानबारे आवश्यक निर्णय लिइनेछ।’

    मुख्यसचिव शंकरदास बैरागीले कर छलेका सूचनासहितका ८७ प्रकारका सूचना वर्गीकरण गरी नियन्त्रण गर्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्ड नै आश्चर्यमा परेका हुन् । मुख्यसचिव भनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने कर्मचारी हुन् ।

    मन्त्रिपरिषद्ले गरेका निर्णय लेख्ने काम मुख्यसचिवको हुन्छ । तर, प्रधानमन्त्री प्रचण्डलाई समेत थाहै नदिई गुप्त शासनको खाका मुख्यसचिव बैरागीले कसरी तयार पारे भन्ने विषयले अहिले सनसनी मच्चिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई थाहै नदिई समितिले पुस १२ गते सरकार र सार्वजनिक पदाधिकारीको पारदर्शिता, अनियमितता र सार्वजनिक गर्नुपर्ने खालका सूचनालाई पनि गोप्यअन्तर्गत वर्गीकरण गर्ने निर्णय गरेको थियो ।

    सूचनाको हकसम्बन्धी ऐनले पाँच विषयलाई मात्रै अपवाद मानेर गोप्य राख्न सक्ने व्यवस्था गरे पनि समितिले ती विषयलाई विस्तार गरेर ८७ प्रकारका नीतिगत विषयमा सार्वजनिक पहुँचलाई बन्देज लगाएको छ । सार्वजनिक पदमा नियुक्त पदाधिकारीको सम्पत्ति विवरणदेखि राजस्व चुहावट, करछली, शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन र सोको अनुगमनसम्बन्धी सूचनासम्मलाई समितिले गोप्यअन्तर्गत वर्गीकरण गरेको छ ।

    शासनसत्ता सञ्चालनका क्रममा हुने अधिकांश निर्णय गोप्य राख्ने, सार्वजनिक खरिदसँग जोडिएका सबैजसो विवरण गोप्य राख्‍ने निर्णय गरिएको छ। समितिले नौ विषयका सूचना ३० वर्षसम्म लुकाउने निर्णय गरेको छ। समितिले हाल सहज रूपमा पहुँचमा रहेका कतिपय विषयलाई पनि गोप्यमा वर्गीकरण गरेको छ । सामान्य अवस्थामा समेत गोप्य राखिने मामुली सूचनालाई वर्गीकरणले लुकाउन थप सहजता प्रदान गरेको छ ।

    समितिले कारागारभित्र रहेका कैदी तथा कारागारको सुरक्षासम्बन्धी, निर्णय प्रक्रियामा रहेका र अन्तिम निर्णय भइनसकेका, संसद् र संसदीय समितिमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका तर्फबाट प्रस्तुत गरिएका जवाफसँग सम्बन्धित विषय, कानुन तर्जुमाको प्रक्रियामा संकलित अभिलेखबद्ध जनधारणा र सुझावलगायतलाई गोप्यअन्तर्गत वर्गीकरण गरेको छ ।

    त्यस्तै, सार्वजनिक खरिद कानुनबमोजिम कालोसूचीमा राख्ने र सोउपर पुनरावलोकन समितिबाट भएका निर्णय प्रक्रियासँग सम्बन्धित विषय, आयोजनाको अध्ययन प्रतिवेदनसँग सम्बन्धित निर्णय, सार्वजनिक निकायसँग भएको लिज सम्झौता, सरकारी स्वामित्वमा रहेका व्यापारिक/व्यावसायिक सेवा प्रदान गर्ने निकायको सेवा विस्तारसम्बन्धी रणनीति तथा व्यावसायिक कार्ययोजना, सार्वजनिक निकायमा पेस भएको उद्योगको व्यावसायिक गतिविधि, विदेशी लगानीको लाभांश फिर्तासम्बन्धी विषयलगायतलाई पनि गोप्य राख्नुपर्ने भनेको छ ।

    राजस्व चुहावट, करछली, शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन र सोेको अनुगमनसम्बन्धी विषय, मानव अधिकार उल्लंघनका घटनाको अनुगमन तथा अनुसन्धानसँग सम्बन्धित तथ्य र विवरण, छानबिन, जाँचबुझ, अध्ययन–अनुसन्धान वा तहकिकातका लागि गठित आयोग, समिति, कार्यदलको प्रतिवेदनलगायतलाई पनि गोप्यमा वर्गीकरण गरिएको छ । बैरागी केपी ओली प्रधानमन्त्री हुँदा मुख्यसचिव बनेका थिए । उनको सम्बन्ध ओलीसँग निकट छ । राज्य सञ्चालनका हरेक सूचना उनले बालकोटलाई टिपाउने गरेको एक सचिवले जानकारी दिए ।

    सर्वसाधारणलाई राज्यका सूचना दिन हुन्न भन्नेमा ओली निकै अनुदार छन् । त्यही भएर प्रधानमन्त्री हुँदा उनले सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेका थिए ।

    अहिले मुख्यसचिव बैरागीको समितिले तयार पारेको गुप्त शासनको खाका एमाले अध्यक्ष ओलीकै सहमतिमा तयार भएको सबैले अनुमान गरेका छन् । प्रधानमन्त्रीलाई समेत थाहै नदिई यस्ता निर्णय भएपछि प्रचण्ड असन्तुष्ट बनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend