काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई १५औँ महाधिवेशनमा सभापतिको उमेदवार बन्ने भएका छन्। आइतबार बत्तीसपुतलीमा भएको समूहको बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले शेखरलाई १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने प्रस्ताव गरेका हुन्।
बैठकमा गुरुङले महामन्त्री गगन थापाको स्वीकृति लिएर उमेदवार प्रस्ताव गरेको बताइएको छ। महामन्त्री थापाले पनि उपसभापति गुरुङको प्रस्तावमा सहमति जनाएको स्रोतले जानकारी दियो।
‘हाम्रो समूहबाट १५औँ महाधिवेशनमा सभापतिको उमेदवार शेखर कोइरालालाई अघि सारौँ र आजैदेखि रूपान्तरण र पुस्तान्तरणका मुद्दा लिएर जाँऔँ,’ गुरुङले बैठकमा भनेका थिए, ‘समयमा सहमति गरेर अघि बढ्न सकेनौँ भने भोलि मलाई पनि आकांक्षा जाग्न सक्छ । महामन्त्री गगनजीलाई पनि आकांक्षा जाग्न सक्छ । त्यसले फेरि पनि हामी एक हुन नसक्ने अवस्था आउन सक्छ ।’ उनले त्यसो भन्दै गर्दा महामन्त्री थापाको पनि राय लिएका थिए ।
एक वर्षअघि सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा शेखरले ‘एकपटक यसैपटक’ भन्ने नारा दिएका थिए ।
गएको मंसिर–४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको संसदीय दलको निर्वाचनमा शेखरले गगन थापालाई अघि सारे । त्यस बेला नै महामन्त्री थापाले शेखरलाई १५औँ महाधिवेशनको सभापतिका रूपमा प्रस्ताव गर्ने सहमति जनाएको अनौपचारिक सूचना बाहिरिएको थियो ।
शेखर समूहका नेताहरूका अनुसार शेखर र गगनसहित केही नेताबीच भएको उक्त समझदारी गगनले बसेरा होटेलको सामूहिक छलफलका क्रममा सार्वजनिक गर्दै त्यसमा प्रतिबद्धता समेत जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।