काठमाडौं - आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ ।
जुन देशको पहिलो ठूलो आन्तरिक विमान दुर्घटना हो, जसमा ७२ जना परेका छन् । आइतबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले सोमबार शोक बिदा दिने निर्णय गरेको थियो । तर शोक बिदा किन दिइएको हो भन्ने विषयमा सरकारले उचित व्याख्या गर्न सकेको छैन ।
सरकारले एक दिन शोक बिदा दिने निर्णय गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रवि लामिछानेको आलोचना भएको छ । सस्तो लोकप्रियताका लागि सार्वजनिक बिदा दिइएको भन्दै जनस्तरमा सरकारको चर्को आलोचना भइरहेको हो ।
सोमबार देशले शोक बिदा मनाउँदै गर्दा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन् । मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले ओलीको निवासमा बसेर ‘दिवा भोज’ लिने भएका छन् ।
प्रधानमन्त्रीमा विश्वासको मत पाएपछि प्रचण्ड दोस्रोपटक बालकोट पुगेका हुन् । सरकार बनेको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको र नियुक्त भएका चार मन्त्रीले जिम्मेवारी नपाएको भन्दै आलोचना बढिरहेको छ । यही बेला ओली र प्रचण्डबीच बालकोटमा ‘दिवा भोज’ विवादमा तानिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।